काठमाडौं, २३ पुस । नेकपा (माओवादी केन्द्र) का सचिव लीलामणि पोखरेलले राज्यको सुविधा लिइरहेका पूर्वराष्ट्रपति र उपराष्ट्रपति दलीय राजनीतिमा आउन नहुने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्वराजालाई पनि आफूहरुले नागरिक बनेर आउन र चुनाव लड्न आग्रह गरेको बताए ।
‘मेरो स्पष्ट दृष्ट्रिकोण के छ भने कसैले राजकीय सुविधा प्राप्त गरेर राजनीतिक दलको नेता वा कार्यकर्ता बन्छ भने त्यो उपयुक्त हुँदैन, मिल्दैन । राजाले पनि नागरिक बनेर आउ, चुनाव लड भनेको हो नि त हामीले,’– उनले भने ।
पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ ले राज्यकोतर्फबाट कुनैपनि प्रकारको सेवा सुविधा नलिएको नेता पोखरेलको दाबी छ । उनी राजनीतिमा आउने वा नआउने भन्ने कुरा स्वयंको निर्णयमा भरपर्ने बताए । ‘सेवा सुविधाको स्थितिमा उहाँ हुनुहुन्न । एउटा नागरिकको हैसियतले पूर्व उपराष्ट्रपतिको हैसियतले बस्दा एउटा नागरिकले आफने नागरिक हक प्राप्त गर्ने कुरालाई हामीले कुण्ठित गर्न मिल्दैन,’– उनले भने ।
त्यस्तै, उपराष्ट्रपतिजस्तो सम्मानित पदमा बसिसकेको व्यक्तिको भूमिका अभिभावकीय हुनुपर्छ भनी अपेक्षा गरिनुपनि नाजायज नहुने उनको बुझाइ छ । पासाङलाई पार्टीले अहिले आमन्त्रित गरेको तर कुनै पद नदिएको बताए । File Photo/RN