Logo

सर्वेन्द्र एमालेभित्रको एउटा प्रवृत्ति हो, सबक सिक्नुपर्छः विष्णु रिजाल



काठमाडौं, २३ पुस । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले सर्वेन्द्र खनाल पार्टीभित्रको एउटा प्रवृत्ति रहेको टिप्पणी गरेका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्ता प्रवृत्तिबाट पार्टीले सबक सिक्नुपर्ने बताए । एमालेले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसमेतलाई केन्द्रीय सदस्य बनाएको प्रसंग उल्लेख गर्दै उनले अहिले तिनै व्यक्तिहरु पार्टीको विरुद्धमा लागेको बताए ।

प्रसाईँ, खनाललगायतका व्यक्तिहरु सिधै भान्छामा छिर्न खोजेको उनको टिप्पणी छ । ‘सर्वेन्द्र खनाल एमालेको एउटा प्रवृत्ति हो । बैठकमा केन्द्रीय कमिटी सदस्यहरुले यस्ता विषयहरुलाई उठाउनुभएको छ । हामी कुनैपनि पार्टीबाट आउनेहरुलाई स्वागत गर्छौं, सम्मान गर्छौं । उहाँहरुलाई उचित अवसर पनि दिन्छौं । तर, यस्तो अहिले भइसक्यो–मान्छे आउन पाएको छैन, सिधै भान्सामा पस्ने स्थिति भयो । हिजो दुर्गा प्रसाईँ हाम्रो पार्टीको केन्द्रीय सदस्य बने । दुई वर्षमा २÷२ चोटी सर्वेन्द्र खनालले टिकट प्राप्त गरे । आज हाम्रो पार्टीको विरुद्धमा खडा हुने र बाहिर जाने अवस्था आइरहेको छ । यो एउटा सबक हो । आगामी दिनमा ध्यान पुर्याउनु पर्छ, सोच्नुपर्छ,’– उनले भने ।

भीम रावललाई कारबाही गरेपछि सर्वेन्द्रले पार्टी छाडेको भन्ने कुरामा कुनै सत्यता नरहेको उनले बताए । ‘भीम रावलले छोडेकै कारण सर्वेन्द्र खनालले छोडेका हुन्, मलाई लाग्दैन । सर्वेन्द्र खनालले जुन निर्णय गरे, त्यसबाट हामीलाई एउटा पाठ प्राप्त भएको छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्