Logo

लोकप्रिय मत ल्याउने दललाई ५ वर्ष सरकार चलाउन दिने गगन-विश्वको प्रस्तावमा मीनेन्द्र रिजालको ‘नोट अफ डिसेन्ट’



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले चुनावमा लोकप्रिय मत ल्याउने दललाई ५ वर्ष सरकारको नेतृत्व गर्न दिनुपर्ने प्रस्तावप्रति कांग्रेसकै नेता डा मीनेन्द्र रिजालले आपत्ति जनाएका छन् ।

मंगलबार अनेरास्ववियु नेपाल ल क्याम्पस कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व सूचना तथा सञ्चारमन्त्री समेत रहेका रिजालले प्रत्यक्ष निर्वाचित कार्यकारी र सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने जस्ता प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन् ।

रिजालले कांग्रेसका महामन्त्रील ल्याएको प्रस्तावले व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य हुने जिकिर गरे । “मेरो पार्टीको महामन्त्रीले सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउनुपर्छ भन्नुभयो । बाबुरामजीले प्रत्यक्ष निर्वाचित कार्यकारी भएपछि सबै चल्छ भन्नुभयो,” उनले भनेका छन्, “यो भनेको मतलब अब व्यवस्थापिका नराख्ने भनेको हो ? अन्तरनिहित विषय त त्यो हो नि । व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य गर्ने भनेको हो ।”

केही दिन अघि पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले संविधान संशोधन गर्दा चुनावमा लोकप्रिय मत ल्याउने दललाई ५ वर्षनै सरकारको नेतृत्व दिनुपर्ने प्रस्ताव गरेका थिए । गठबन्धनको सरकार चलाउने एउटा संस्कार, संस्कृति हुन्छ,’ गगनले भनेका थिए, ‘हाम्रो सन्दर्भमा त्यो फिट भएन भन्न मिल्छ । त्यसो भए के हुनुपर्छ ? त्यसोभए जुन पार्टीले लोकप्रिय मत प्राप्त गर्छ त्यसले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्