Logo

प्रचण्ड पोश्चर नै माओवादीको विगत, वर्तमान र भविष्य होः रञ्जित तामाङ



काठमाडौं, २३ पुस । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रञ्जित तामाङले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प खोज्न नसकिने धारणा राखेका छन् । आज (मंगलबार) केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले प्रचण्ड पोश्चर नै माओवादीको विगत, वर्तमान र भविष्य रहेको बताएका हुन् । विशेष महाधिवेशनबारे केन्द्रीय समितिमा गरमागरम बहस चलिरहेको बेलामा नेता तामाङले पार्टी पदाधिकारी रहेका प्रचण्डपछिका नेताहरुले धैर्यता राख्नुपर्ने बताए ।

‘निश्चय नै, प्रचण्ड पोष्चर नै माओवादीको विगत, वर्तमान र भविष्य हो । संगै पदाधिकारीमध्ये केही आशलाग्दा नेताहरु हुनुहुन्छ । जसको पासपोर्ट साईजको फोटोको पनि कार्यकर्तालाई हेक्का छ । तर, उहाँहरुमा धैर्यता हुनुपर्यो,’– नेता तामाङले भने ।

साथै, उनले अहिले पार्टीलाई २०६४ सालमा फर्काउनेबारे चर्चा भइरहेको बताउँदै त्यसका लागि त्यहीबेलाको जस्तो एकता र केन्द्रीकरण आवश्यक रहेको बताए । नेता तामाङले अहिले माओवादीप्रति जनउत्साह बढेको पनि बताए । उनले जनउत्साहलाई ध्यान दिदै ६ महिना अभियान चलाउन प्रस्ताव गरे । पार्टीमा उत्साह थपेर, थप जनसमर्थन जुटाउँदै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनको भनाइ छ ।

नेता तामाङले प्रचण्ड नेतृत्वको सरकारले चलाएको सशासनको अभियान नै अहिलेको मुख्य एजेण्डा बनाइनुपर्ने बताए । उनले अहिले व्यप्त भ्रष्ट्राचारका विरुद्ध अहिले देश एकतावद्ध रहेको र उक्त एजेण्डामा जनता जुट्ने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्