Logo

जनमतको आक्षेपप्रति मधेश प्रदेश सभामा उठ्यो प्रश्न, कांग्रेस-एमालेलाई दोष दिनुभन्दा आफ्नो मुख हेर्न सीके राउतलाई चेतावनी



काठमाडौं । मधेश प्रदेश सभाको चौथो अधिवेशन सुरु भएको छ । अधिवेशन अन्तर्गत आजको पहिलो बैठकमा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेश प्रमुखबाट प्राप्त चौथो अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाए।

तीन महिनादेखि बन्द रहेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणको पत्र सभामुख मण्डलले पढेर सुनाएका थिए।

बैठकले सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्ययक्षता गर्ने सदस्यको मनोनयन गरेको छ । प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम ११ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि हरिनारायण महतो, चन्दन सिंह, जवाहर कुशवाहा, रमेशप्रसाद कुर्मिलाई मनोनयन गरेको हो ।

मधेश प्रदेशसभाको तेस्रो अधिवेशन गत ४ असोजमा अन्त्य भएको थियो । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा ३६, दोस्रो अधिवेशनमा १४ र तेस्रो अधिवेशनमा ३४ वटा बैठक बसेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए।

कृषिसम्बन्धी विधेयक, बिउबीजनसम्बन्धी विधेयक, पर्यटन विधेयक र बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको ऐनको संशोधन सहितका ‘बिजनेस’ प्रदेशसभामा छन् ।

प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा नै सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । बैठकमा बोल्दै सांसद विमला अन्सारीले नागरिकहरु चिसोबाट मरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराईन् । रौतहटमा ४२ वर्षिय अटो चालकले चिसोको कारण ज्यान गुमाएको भन्दै उनको परिवारलाई क्षतिपूर्ती दिन माग गरिन् ।

पूर्व गृहमन्त्रीसमेत रहेकी अन्सारीले प्रदेशमा धार्मिक हिंशा भड्किने काम भएको भन्दै यसतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताईन् । मधेशका विभिन्न जिल्लामा आयोजना हुने धार्मीक सभा सम्मेलनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउनुपर्नेमा उनले जोड दिईन् ।

लोसपाका सांसद उपेन्द्र महतोले जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले सामाजिक सञ्जालमा गरेको टीकाटिप्पणीमा आपत्ति जनाएका छन् । मधेश सरकारको नेतृत्व गरिरहेको जनमतले सत्ता साझेदार दलले असहयोग गरेको भन्दै राउतले केही दिन अघि सामाजिक सञ्जालमा ८ बुँदे टिप्पणी गरेका थिए । राउतले मधेशको सरकार परिवर्तनका लागि कांग्रेस र एमालेले प्रयास गरिरहेको, सरकारलाई काम गर्न नदिएको मन्त्रीले मुख्यमन्त्रीलाई नटेरेको, प्रमुख दलका नेताहरु सचिवकहाँ धर्ना बस्न गएको लगायतका आरोप लगाएका थिए ।

राउतले लगाएको उक्त आरोपको लोसपा सांसद महतोले खण्डन गरेका हुन् । सो विषयमा मुख्यमन्त्री सतिशकुमार सिंहलाई सांसद महतोले भने, ‘तपाईं आफ्नो अध्यक्षलाई भन्नुस्, प्रदेश हामीलाई चलाउनु दिनुस् ।’ आर्थिक वर्षको आधा समय बितिसक्दा पनि विकास निर्माण सुरु नभएको भन्दै सांसद महतोले विगतको जस्तै अवस्था रह्यो भने फेरि पनि विकास रकम थोरै खर्च हुने बताए ।

यता जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले भने आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेपछि मधेशको विकासले फड्को मारेको दाबी गरे । खेलकुद क्षेत्रमा प्रदेश सरकारले निक्कै महत्व दिएको उनको भनाइ छ । प्रदेश सभाको अघिल्लो अधिवेशनमा नभएको कानून गत अधिवेशनले पारित गरेको उनको भनाइ छ । मधेशले खेलकुदमा कीर्तिमान कायम गरेको उनको भनाई छ । यादवले हालै सम्पन्न नेपाल प्रिमियर लिगको उपाधि जितेको भन्दै जनकपुर बोल्ट्स र प्रदेश सरकारलाई धन्यवाद दिएका छन् ।

स्थानीय सेवा विधेयकबारे भइरहेको कर्मचारीको आन्दोलनप्रति यादवले सरकारको ध्यानाकर्षण गराए । आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । यादवले पटक पटक मधेश सरकारको नेतृत्व अन्य दलहरुले गरिसकेको स्मरण गराउँदै मधेशमा जनमतले सरकारको नेतृत्व पहिलो पटक लिएको हुँदा अपेक्षाकृत नतिजा दिन नसकेको बताए ।

‘हामीले जनतालाई कतिसम्म सरकारको अनूभूति दिलाउन सक्यौं । त्यो जनताले मूल्यांकन गर्नेकुरा हो । संघीय गणतन्त्रको हिमायती हौं भन्छौं तर, संघीयता नै धरापमा परेको कुरा बुझ्न जरुरी छ । यो सरकारले जनमुखी कार्यक्रम ल्याएको छ । ती कार्यक्रम यो प्रदेशको लागि निक्कै महत्वपूर्ण छ । तर, ती कार्यक्रम लागू हुन सकेको छैन’ उनले भने ।

यादवले जनमत पार्टीले जे गर्न सक्ने हो त्यो मात्र गर्ने र गर्न नसक्ने काममा झुटो आश्वासन दिने काम नगर्ने प्रष्ट पारे । ‘हामी जे गर्न सक्छौं । त्यहीमात्र गछौं । झुटो आश्वासन कसैलाई पनि दिँदैनौं । जहाँ हामी गर्न सक्छौं त्यहाँमात्र आश्वासन दिन्छौं । हामी सबै एकजुट भएर काम गरौं । प्रतिस्पर्धीको भूमिका भन्दा सहकार्यको भूमिकाबाट अघि बढौं’ उनले भने ।

पूर्व मुख्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी नेपालका सांसद लालबाबु राउतले प्रदेश सरकारले अपेक्षाकृत काम गर्न नसकेको टिप्पणी गरे । नयाँ सरकार बनेको ६ महिना निक्कै निराशाजनक भएको उनको भनाई छ । प्रदेश सरकारको कमजोरीको जिम्मेवारी सरकारमा सहभागी दलले लिनुपर्ने उनको भनाइ छ । सरकारले सदन चलाउन जाँगर नदेखाएको राउतले आरोप लगाए । सत्तारुढ दललाई मिलाउने र प्रतिपक्षीलाई विश्वासमा लिने काम सरकारकै भएको उनको भनाई छ ।

राउतले प्रदेश सरकारले काम भन्दा धेरै स्टन्ड गरेको आरोप लगाउँदै भने ‘प्रदेश सरकारले काम भन्दा बढी स्टन्ड गरेको छ । आफ्नै मन्त्रीलाई स्पष्टीकरण सोध्ने यो कस्तो म्याचुरिटी हो । के स्टन्टबाजीले जनतालाई १र २ पटक ढाँट्न सकिन्छ तर, सधैं जनताले पत्याउँदैनन् । जनतालाई दिगभ्रमित गर्ने काम गरिएपनि सरकारमा बसेर मुख्यमन्त्रीको मर्यादाले दिँदैन । पार्टीको समस्या पार्टीले समाधान गर्ने हो । जनतालाई गुमराहमा राख्ने होइन’ ।

नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद यादवले प्रदेश सरकारले सदन छलेर अध्यादेश ल्याउने काम गर्न लागेकोप्रति आपत्ति जनाए । उनले सत्ता साझेदार दलहरुसँग छलफल नगरि अध्यादेश ल्याउन खोज्नु आपत्तिजनक रहेको बताए । उनले कांग्रेस अध्यादेशको पक्षमा नरहेको प्रष्ट पारे । उनले सीके राउतको ८ बुँदे आक्षेपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाए । आफू काम नगर्ने र दोष अरुलाई लगाउने काम आपत्ति जनक भएको बताए । उनले सीके राउतले लगाएको आरोप पुष्टि गर्न चुनौतीसमेत दिएका छन् ।

सीके राउतलाई प्रश्न गर्दै उनले भने ‘तपाईं दिनदिनै कुरा फेर्नहुन्छ । बिहान एउटा कुरा बेलुका अर्को कुरा । अनि गाली कांग्रेस एमालेलाई ? । आजसम्म रातो किताबको एउटा पनि कार्यक्रम लागू भएको छैन् । कार्यक्रमनै सुरु नभइ कांग्रेस एमालेले कमिसन र भ्रष्टार गरे भन्ने ? आफ्नो मुख पनि हेर्नुस । मुख्यमन्त्रीले सरुवा बढुवा भन्दा बाहेक अरु कुनै पनि काम भएको छैन् । मुख्यमन्त्रीजी संसदप्रति जिम्मेवार र उत्तरदायी बन्नसक्नु भएन’ ।

बैठकमा बोल्दै नेकपा एमालेकी सांसद शारदादेवी थापाले रामयणको कथा सुनाउँदै प्रदेश सरकारले सोचेजस्तो काम गर्न नसकेको जिकिर गरिन् । उनले प्रदेश सरकारका मन्त्रीले ७ महिनासम्म कुनै पनि काम गर्न नसकेको बताईन् । रामायणको प्रसंग झिक्दै थापाले अन्तिममा काम गर्न पाईन भनेर गुनासो गर्ने ठाउँ नराख्नेगरि काम गर्न आग्रह गरिन् ।



प्रतिक्रिया दिनुहोस्