काठमाडौं, २३ पुस । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले चालेको कदम सकारात्मक रहेको निष्कर्ष निकालेको छ । गत पुस २१ गतेदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठक १४ बुँदे प्रस्ताव पारित गर्दै आज समाप्त भएको छ । बैठकले निष्कर्षमा भनिएको छ, ‘गम्भीर सामाजिक चुनौतीका रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले सुरू गरेका कदमहरू सकारात्मक छन्।’
बैठक भ्रष्टाचारको अनुसन्धान, अभियोजन र न्याय निरुपणका लागि स्थापित राज्यका निकायहरूलाई अझ अधिकारसम्पन्न, साधन स्रोतले युक्त बनाउन, भ्रष्टाचारविरुद्ध सामाजिक जागरण वृद्धि गर्नसमेत सरकारको ध्यानाकार्षण गराएको छ ।
सहकारी बचतकर्ताहरूको रकम सुरक्षितसाथ फिर्ता हुने कुरा सुनिश्चित गर्ने, अनियमितता मुछिएका जोसुकैका विरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र भ्रष्टाचार भएको भनी चर्चामा रहेका सबै प्रकरणहरूको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पुयाउनसमेत एमालेले सरकारको ध्यानाकार्षण गराएको छ ।