काठमाडौं, २३ पुस । देशका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको सुरुवात र अन्त्य एकैदिन भएको छ । गत पुस २१ गते सुरु भएको एमाले–माओवादी बैठक आज सकिएको हो ।
माओवादी–एमाले बैठक एकैदिन सुरु भएर अन्त्य हुनुलाई धेरैले चासोको रुपमा हेरेका छन् । माओवादी केन्द्रले भने एकैदिन बैठक सुरु हुनुलाई संयोग भनेको छ ।
एमालेको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले माओवादीलाई विभिन्न आरोप–प्रत्यारोप गरेका छन् । ओलीले माओवादीलाई राजावादीसँग साँठगाँठ गरेको गम्भीर आरोप लगाएका छन् । यता माओवादीले पनि एमाले र त्यसको नेतृत्वलाई स्टालिनको संज्ञा दिएका छन् । ओलीले स्टालिनले झै बोल्नेको मुखमा चुक्कुल ठोकेर राजनीतिक हत्या गरिरहेको माओवादी नेताहरुको आरोप छ ।
यसरी यी विभिन्न आरोप–प्रत्यारोप र बचाउहरुलाई हेर्दा एमाले–माओवादीको केन्द्रीय समिति बैठक सुनियोजित नरहेको पुष्टि हुन्छ । माओवादीमा एमालेको नेतृत्वमा ओली रहेसम्म सहकार्यसमेत गर्न नहुने गरमागरम बहस भएको छ ।