काठमाडौं, २४ पुस । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बोलपत्र आह्वान र रद्द प्रक्रियामा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको कुनै संलग्नता नरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रक्रिया नपुगी बोलपत्र आएका कारण सबै रद्द गरिएको बताए । उनले जगदुल्ला अर्ध जलाशययुक्त आयोजना (१०६ मेगावाट) को निर्माण कार्यका लागि सातवटा बोलपत्र परेको तर, कुनैपनि पूर्ण नरहेकाले रद्द गरिएको बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सापकोटाले ठेक्का रद्द प्रक्रियामा आफ्नो र मन्त्रीहरुको कुनै संलग्नता नै नरहेको बताए । उनले सबै मूल्याङ्कन समितिको सिफारिसमा काम हुने बताए । ‘यहाँभित्र मन्त्रीको होईन, मेरोपनि भूमिका हुँदैन । मूल्याङ्कन कमिटी हुन्छ । त्यो मूल्याङ्कन कमिटीले आफ्नो काम सम्पन्न गरेपछि मलाई प्रतिवेदन बुझाउँछ । मैले त्यसको सिफारिसको आधारमा टेकेर अगाडि जान अथवा ब्याक हट्न भन्ने हो,’– कार्यकारी अधिकृत सापकोटाले भने ।
अब छिट्टै उक्त ठेक्काको बोलपत्र आह्वान हुने र यसअघि रद्द भएका ७ वटै कम्पनीले सहभागिता जनाउन पाउने उनले बताए । मन्त्रीको दवाब थेग्न नसकेर टेन्डर प्रक्रिया रद्द गरिएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताए । ‘हामी पुनः बोलपत्र आह्वान गरिनै हाल्छौं । हामीलाई धेरै लाग्दैन । एक हप्ताभित्रमा बोलपत्र आह्वान गर्छौं । समस्याहरुलाई परिमार्जित गरेर निकाल्छौं अब । अब ती सातवटा आउनसक्ने र अरुपनि आउनसक्ने गरी निकाल्छौं,’– उनले भने ।