काठमाडौं, २४ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही राजनीतिक दलहरुले संक्रमणकालीन न्यायलाई माओवादी र त्यसको नेतृत्वलाई तह लगाउने अस्त्र ठानेको बताएका छन् । आज (बुधबार) वेपत्ता योद्धा राजेन्द्र ढकालको २६औं स्मरण दिवसको सन्दर्भमा आयोजित ‘शान्ति प्रक्रिया र वेपत्ता नागरिकहरुको सार्वजनिकिकरणको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गिन नदिने कुरा केही राजनीतिक दलको विजनेस नै बनेको बताएका हुन् ।
नेकपा (एमाले) र अहिले प्रधानमन्त्रीसमेत रहेको पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै प्रचण्डले केहीमान्छेहरुले माओवादीलाई सकाएरमात्रै शान्ति प्रक्रियाका बाँकी काम गरौंला भनिरहेको बताए । ‘एउटा प्रवृत्ति नहोस् भन्ने छ, अझ कोही–कोहीको त विजनेस भइरहेको छ । किन टुङ्गिन परेको छ हामीलाई भन्ने प्रवृत्ति छ । एउटा राजनीतिक प्रवृत्ति अझ गम्भीर के छ भने माओवादीलाई तह लगाउने अब अन्तिम यही छ, किन टुङ्ग्याउनुपरेको छ र ? माओवादी सिध्याएरमात्रै के गर्नुपर्छ अनि गरौंला भन्ने सोचका मान्छे र प्रवृत्ति पनि छन् । यो कुरा आवेग पनि होईन, सेन्टिमेन्ट पनि होईन । एउटा राजनीतिक प्रवृत्ति त्यस्तो छ । टुङ्गिन लागेको बेला रोक्छ त्यसले । माओवादी नेतृत्वलाई तह लगाउने, ठीक गर्ने र टुङ्ग्याउन हुँदैन भन्ने प्रवृत्ति छ । अग्निजी (अग्नि खरेल) ले जति राख्नु भयो, उहाँको सोच र इमानदारिता, उहाँले भन्न खोजेको कुराप्रति मेरो कुनै गुनासो छैन । तर, अग्निजीको एमालेमा चल्दैन । यो अर्को सत्य हो,’– उनले भने ।
उनले आफू शान्ति सम्झौताको हस्ताक्षरकर्ता, क्रान्ति विद्रोह र जनयुद्धको नेतृत्वकर्ता हुनुको नाताले छिटोभन्दा छिटो यो विषय टुङ्गियोस् भन्ने चाहना रहेको बताए । प्रचण्डले यस विषय पछाडिको संवेदनशीलता, तीब्रता बुझ्न सक्नुपर्ने बताए । आफूले यस विषयलाई लम्ब्याउनुपर्ने, लम्बिदिए हुन्थ्यो भन्नुपर्ने कुनै आधार, कारण र तर्क केहीपनि नरहेको बताए । आफूले पीडितहरुसँग बालुवाटारमा पटक–पकट पीडितलाई बोलाएर कुरा सुनेको पनि अध्यक्ष प्रचण्डले बताए । उनले आफ्नो कुारले पीडित र उनीहरुका परिवार कन्भिन्स पनि भएको बताए ।
शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका पदाधिकारी चयनका लागि गठित समितिले सिफारिस गर्न नसकी भंग भएको विषयलाई जोड्दै अध्यक्ष प्रचण्डले भने,‘अब त भयो भनेको फेरिपनि भएन । त्यो सिफारिस समिति पनि मेरै प्रस्तावमा बनेको सिफारिस समिति हो । तर, त्यहाँ धेरै चिजहरु भए । मैले अहिले ती सबै पोका फुकाउन आवस्यक पनि छैन ।’
साथै, शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्याउन पीडितहरु सडकमा आउनुपर्ने हुनपनि सक्ने प्रचण्डको भनाइ छ । उनले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता आफैंमा राजनीतिक समझदारीका दस्तावेज रहेको बताउँदै ती सबै सम्झौताहरु संविधानको अंगको रुपमा मानिएको स्मरण गराए । छ । अहिले राजनीतिक कारणले नै शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन कठिन भएको प्रचण्डको निष्कर्ष छ । यसमा कन्फ्यूजन हुनुपर्ने कारण केहीपनि नरहेको उनले बताए ।
‘पीडितहरुले पटक–पटक यो विषय उठाइराख्नु, जरुरी पर्दा सडकमा पनि जाने तयारी गर्नु, अन्तिममा त सडक नै हुने हो कि भनेजस्तो मलाई लाग्न थालेको छ । अन्तरक्रिया, गोष्ठी, विवाद पनि हो । त्यसले केहीपनि हुँदैन भन्ने मेरो भनाइ होईन । त्यसले पनि केही न केही वातावरण बनाउन मद्धत गरेकै छ, गर्छ । तर, यहाँ विषय कानुनीभन्दा पनि बढी राजनीतिक नै छ,’– उनले भने ।