काठमाडौं, २४ पुस । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले आफूहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बाँचुन्जेल नेतृत्वमा रहनपर्छ वा आजै नेतृत्व छोड्नुस् पनि नभनेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आगामी महाधिवेशनमा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयान हुने र जोपनि नेतृत्वमा आउनसक्ने बताएका हुन् ।
उनले आगामी महाधिवेशनमा निर्वाचित नेतृत्व बनाउने बनाउने बताए । तल्लो कमिटीबाटै निर्वाचित हुँदै आएर नेतृत्व पनि प्रतिस्पर्धाबाटै चुनिने उनको भनाइ छ । ‘हामीले एउटा स्तरसम्म निर्वाचन गर्ने विधानमा लेखिसकेका छौं । अहिलेसम्मको परम्परा तोडेर लोकतन्त्रको अभ्यास गरेर निर्वाचित नेतृत्व बन्छ,’– उनले भने, ‘हामीले प्रचण्ड बाँचुन्जेल नेतृत्वमा हुनुपर्छ पनि भनेका छैनौं । प्रचण्डले आजको आजै छोड्नुस् पनि भनेका छैनौं । नेतृत्व निर्माणको विधि र प्रक्रियामा जाउँ र विधि र प्रक्रियाबाट बन्दा प्रचण्ड र अर्को जोपनि हुनसक्छ ।’
उपमहासचिव शर्माले अब प्रचण्ड अध्यक्ष हुँदापनि निर्वाचित भएर हुने बताए । शर्माले पार्टीभित्र प्रचण्डको विकल्प रहेको बताए । प्रचण्ड स्वयंले पार्टीमा आफ्नो विकल्प रहेको स्वीकार गरेको उनले बताए । ‘उहाँ स्वयंले के भन्नु भएको छ भने– यो पार्टीमा विभिन्न युद्ध, आन्दोलनको अनुभव गरेका, सरकारको अनुभव गरेका, नेतृत्व गर्नसक्ने दर्जनौं साथीहरु हुनुहुन्छ भनेर उहाँले नै भन्नुभएको छ । त्यो एउटा प्रक्रिया, पद्धतिबाट आउने कुरा हो । विकल्प नभएको होईन, विकल्प पनि हामीले बनाएका छौं,’– उनले भने ।