Logo

सिटौलाले फेरी दोहोर्याएः सरकारको नेतृत्व ओलीको, नीतिगत नेतृत्व कांग्रेसको



काठमाडौं, २४ पुस । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार भएपनि नीतिगत नेतृत्व भने आफूहरुले गरिरहेको बताएका छन् । आज (बुधबार) झापामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसविना ओली नेतृत्वको सरकार एक पलपनि अगाडि बढ्न असम्भव रहेको बताए ।

‘संघीय संसद्मा कांग्रेस ठूलो छ । तथापि आज हामी सबैभन्दा ठूलो पार्टी भएर पनि दोस्रो पार्टी एमालेको नेतालाई प्रधानमन्त्रीमा हामीले समर्थन गरेका छौं । सरकारमा सामेल छौं । सरकार एमालेको नेतृत्वमा भएपनि सैद्धान्तिक र नीतिगत रुपमा देशलाई अगाडि बढाउने सन्दर्भमा कांग्रेसको नीतिगत नेतृत्व रहने छ,’– नेता सिटौलाले भने ।

साथै, कांग्रेस देशको प्रगतिका लागि सबैलाई एकाकार गरेर हिँडाउन तत्पर रहेको पनि उनले बताए । कांग्रेसको विचार, नीति र संविधानले निर्देश गरेको दिशालाई नाघेर कोही अगाडि जान नसक्ने उनको भनाइ छ । नेता सिटौलाले जनताको पक्षमा संविधान संशोधन गर्नुपर्ने आवस्यकता रहेको बताए । उनले कुनै पार्टी र नेता विशेषको पक्षमा नभएर जनताको हितमा काम गर्न बाधा परेका प्रावधानहरु संशोधन गरिनुपर्ने र संविधानबमोजिम सरकारले जनताको पक्षमा गरेको कामको समीक्षा हुनुपर्ने उनले बताए । समग्रमा संविधानको पक्ष समीक्षा गरेर संशोधनमा जानुपर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्