काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । बिहीबार बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय नजिकैबाट पक्राउ गरेको हो ।
यसअघि सोमबार ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा मोरङ जिल्ला अदालतले अनिललाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।
पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने र होस्टलको समेत व्यवस्था गरिदिने भन्दै ३८ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप उनीमाथि रहेको छ । सो प्रकरण सार्वजनिक भएलगत्तै सभापति पोखरेलले अनिललाई आफ्नो स्वकीय सचिवबाट बर्खास्त गरेका थिए ।
मोरङको रंगेली नगरपालिका–२ घर भई हाल काठमाडौं बस्ने स्वकीय सचिव अनिल पोखरेलले छोरीलाई पार्टीको कोटाबाट एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग ३८ लाख ३० हजार लिएका थिए ।
३८ लाख ३० हजार बुझाउँदा पनि बौआलालकी छोरीको नाम ननिक्लिएपछि रकम मागेका थिए । पैसा माग्दा पोखरेलले उल्टै चौधरीलाई ५० लाख रुपैयाँ ऋण दिएको कपाली तमसुक देखाएका थिए ।
अनिलविरुद्ध प्रहरीले उजुरी लिन नमानेको भन्दै चौधरीले उच्च अदालत विराटनगरमा २०७९ सालमा मुद्दा दर्ता गराएका थिए । सो मुद्दामा गत भदौमा उच्च अदालत विराटनगरका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथ प्रकाश अधिकारीको इजलासले अनिलकुमार पोखरेलविरुद्ध जाहेरी दर्ता गरी कानुनअनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको हो । उक्त आदेश पुस ११ मा प्रमाणीकरण भएको थियो ।
अनिलकुमार पोखरेल एमालेको मोरङ जिल्ला कमिटी सदस्य हुन् । उनी २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवारमा जिल्ला कमिटीबाट सिफारिस भएका थिए । तर, अन्तिममा टिकट भने लिलावल्लभ अधिकारीले पाए ।