Logo

पहिलो पालीमा पुलिसलाई १२९ र आर्मीलाई ७६ रनको अग्रता, चार टिमका ५ खेलाडीले हिर्काए अर्धशतक



काठमाडौं । जय साह ट्रफी एलिट कप अन्तर्गतको दोस्रो खेलमा विभागीय टिम नेपाल आर्मी र नेपाल पुलिस क्लबले अग्रता बनाएका छन् । वीरगञ्ज र जनकपुरमा जारी खेलमा पुलिसले मधेश प्रदेशविरुद्ध १२९ रनको अग्रता लिँदा आर्मीले बागमतीविरुद्ध पहिलो पालीमा ७६ रनको अग्रता लिएको छ ।

जनकपुरमा भएको खेलमा पहिलो पाली ब्याटिङ गरेको आर्मीले पूरा ६० ओभर ब्याटिङ गर्दै २७६ रन जोडेको थियो । जवाफमा बागमतीले ५० ओभरमा अलआउट हुँदै २०० रन मात्र जोड्न सक्यो । पहिलो पालीमा बागमतीका नन्दन यादव तथा आर्मीका इमरान शेख र बसिर अहमदले अर्धशत हिर्काएका छन् । इमरानले ७२ रन जोड्दा बसिरले ५३ रन जोडेका थिए । त्यसको अतिरिक्त आर्मीका लागि तृतराज दासले ४४, भीम सार्कीले ३२ र कुशल मल्लले ३५ रन जोडे ।

बागमती प्रदेशका लागि विपीन आचार्यले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए ।

बागमतीका लागि नन्दन यादवले ५१, शुभ कंसाकारले ३४, उत्तम मगरले २८ तथा रित गौतमले २१ र विपिन आचार्यले २० रन थपेका थिए । उता पर्सामा भएको खेलमा मधेश १२९ रनमा अलआउट भएपछि ब्याटिङ गरेको पुलिसले २५८ रन जोड्दै १२९ रनको विशाल अग्रता लिएको हो । मधेशका लागि मयन यादवले अर्धशतक हिर्काउँदा अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।

मधेसलाई सस्तैमा समेट्ने क्रममा पुलिसका लागि गुलशन झाले पाँच विकेट लिए भने कुशल भुर्तेलले दुई विकेट लिए । साथै श्रवण यादव र ललित राजवंशीले एकरएक विकेट लिए ।

पुलिसका लागि भने कुशल भुर्तेलले ६३ रनको अर्धशतकीय पारी खेल्दा दिलिप नाथ र आरिफ शेखले समान ४०, अमृत श्रेष्पठले ३५, शंकर रानाले ३१, अर्जुन साउदले २२ तथा गुल्सन झाले २० रन थपेका थिए ।



प्रतिक्रिया दिनुहोस्