Logo

एमाले संविधान संशोधनका लागि प्रतिवद्ध र क्रियाशील छः ठाकुर गैरे (भिडिओसहित)



काठमाडौं, २५ पुस । नेकपा (एमाले) का नेता ठाकुर गैरेले सरकार गठनको बेलामा कांग्रेससँग भएको सात बुँदे सहमतिप्रति पार्टी प्रतिवद्ध रहेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संविधान संशोधनका लागि एमाले प्रतिवद्ध रहेको र त्यसका लागि क्रियाशील गरेको बताएका हुन् । एमाले अध्यक्षसमेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले सदनको यो अवधिमा संविधान संशोधन नहुने अभिव्यक्ति दिएका थिए ।

‘एमाले र कांग्रेसको सरकार बनाउँदाखेरी सात बुँदे सहमतिमा एउटा बुँदा चाहीँ संविधानको समीक्षा गरेर आवस्यकताअनुरुप संशोधन गर्ने भन्ने सहमति भएको हो । त्यो सहमतिमा एमाले अहिले पनि प्रतिवद्ध छ । त्यसका लागि क्रियाशील छ,’– उनले भने ।

प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिलाई लिएर सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका थिए । नेता गैरेले आफूले विश्वप्रकाशको अभिव्यक्ति पनि सुनेको बताउँदै प्रधानमन्त्री ओलीको अभिव्यक्तिको आशय माओवादी र अन्य दलहरुलको प्रस्तुतिको आधारमा उनीहरुको साथ नहुने हो भने संविधान संशोधनका लागि समय लाग्छ भन्ने रहेको उनले बताए ।

‘विश्वप्रकाश शर्माको हिजोको भाषण पनि मैले सुनेँ । संविधान संशोधन गर्नका लागि दुई तिहाइ बहुमत अनिवार्य चाहिन्छ । अहिले कांग्रेस र एमालेको साथमा दुई तिहाइ बहुमत छैन । माओवादीलगायत अन्य दलहरुले पनि यसलाई सकारात्मक रुपले हेर्दा र यसका जायज विषयहरु संविधान संशोधन गरेर जाउँ भनेर सहमति हुँदा अब आउने हिउँदे अधिवेशनबाटै संविधान संशोधन गर्न एमाले तयार छ,’– उनले भने ।

साथै, फरक प्रसंगमा नेता गैरेले एमालेका पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीले निष्काशन गर्नु ठीक थियो भन्ने अहिलेको परिस्थितिले पुष्टि गरिरहेको बताए । रावलले अहिले गरिरहेको साँठगाँठले त्यसलाई पुष्टि गरेको नेता गैरेको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्