काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पतित राजनीतिभन्दा माथि उठ्न आग्रह गरेका छन् । ६ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली गर्दै गरेको भाषणा अहिले भाइरल भएपछि उनले आपत्ति जनाउँदै पतित राजनीतिबाट माथि उठ्न अनुरोध गरेका हुन् ।
बुधबार साँझ सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै गुरुङले तत्कालीन प्रतिपक्ष दल नेकाले गरेको आन्दोलनको भाषणाको क्लिप काटेर भाइरल गरिएको बाएका हुन् ।
उनले भनेका छन् ‘पतित राजनीति भन्दा माथि उठ्ने कि! झण्डै ६ वर्ष पहिले तत्कालीन नेकपाको सरकार बिरुद्ध तत्कालीन प्रतिपक्ष दल नेकाले गरेको आन्दोलनको मेरो भाषणको भिडियो क्लिप हाल सामाजिक संजालमा प्रचार गरेर Provoke गर्ने कार्य खेद जनक छ। वैचारिक रुपमा प्रतिस्पर्धा गरौं। पतित राजनीति भन्दा माथि उठौं’ ।
०७५ सालमा एउटा कार्यक्रममा बोल्दै गुरुङले ओलीमाथि कडा टिप्पणी गर्दै गाली गरेका थिए । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भिडिओमा उनी भनिरहेका छन्, ‘केपी ओलीहरू अहिले सिंहदरबारमा बसेर नेपाली जनतालाई लुटिरहेका छन्। नेपाली जनता भनिरहेका छन्। केपी शर्मा ओलीजी, यो मैले कुनै मिथ्या कुरा गरिरहेको छैन, वाइडबडी काण्ड के हो? त्यो लुटेको हो कि होइन? बूढीगण्डकी काण्ड के हो? लुटेको हो कि होइन? त्यस्तै गरेर ओम्नी काण्ड के हो? मेलम्ची काण्ड के हो? आज भ्रष्टाचारका काण्डैकाण्ड घटेर, घटाएर, गरिब व्यापारीले तिरेको करबाट, राज्यको ढुकुटीबाट ब्रह्मलुट गरिरहेको देखिन्छ। …केपी शर्मा ओलीजी सिंहदरबारमा बसेर खाने मात्र होइन, घिचिरहनुभएको छ।…सिंहदरबारमा कम्युनिस्टको बर्को ओढेर केपी शर्मा ओलीहरूले यो मुलुकमा निर्मला हत्याकाण्डका हत्याराहरूलाई लुकाएर, संरक्षण दिएर अझै अर्काे अपराध गरिरहेका छन्। सिंहदरबारमा बसेर अपराध गर्न पाइँदैन।…’