काठमाडौं, २५ पुस । नेकपा (एमाले) बाट निष्काशित नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखामा पट्टी बाँधेको शासकको संज्ञा दिएका छन् । पृथ्वी जयन्तीको सन्दर्भमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले ओलीले सबै जनता मुर्ख छन्, म मात्रै सर्वज्ञ हुँ भन्ने भाव प्रस्तुत गरिरहेको बताएका हुन् ।
संविधान संशोधनका लागि सरकार बनेको भनेर चर्चा गरिपनि अहिले ओलीले संविधान संशोधन २०८७ मा मात्रै हुने भनी अभिव्यक्ति दिइरहेको बताउँदै भने, ‘कतिपय मान्छेहरु भन्छन्, हामीले त सरकार संविधान संशोधनका लागि ल्यायौं । तर, यदि मेरो आँखा र कानले धोका दिएको छैन भने, देशका प्रधानमन्त्री भन्नुहुन्छ, अब संविधान संशोधन २०८७ सालमा हुन्छ । आश्चर्य लाग्छ, सरकारमा म पनि गएको थिएँ । तर, यतिसाह्रो आँखामा पट्टी लगाएर, जनता सबै मुर्ख छन्, म मात्रै सर्वज्ञाता छु भन्ने यस्तो कुनै देशको शासक हुन्छ भन्ने मलाई लाग्दैन ।’
पृथ्वीनारायण शाहले स्वाधीन, स्वतन्त्र, अखण्ड र स्वाभिमान नेपालको जग बसालेको नेता रावलको भनाइ छ । नेता रावलले प्रत्येक देशभक्तहरुले पृथ्वीनारायण शाहले बसालेको जगलाई भत्किन दिन नहुने बताए । उनले सबै देशभक्तहरु एक भएर अगाडि बढ्नुपर्ने बताए ।