Logo

गगन-विश्वकै लाइनमा उभिए शंकर पोख्रेल, भन्छन्: लोकप्रिय मत ल्याउने दलले ५ वर्ष सरकार चलाउन पाउनुपर्छ



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले चुनावमा लोकप्रिय मत ल्याउने दलले ५ वर्ष सरकार चलाउन पाउनुपर्ने बताएका छन् । बिहीबार पार्टीको भातृ संगठन अनेरास्ववियुले स्ववियु निर्वाचनको सन्दर्शभमा पार्टी मूख्यालय च्यासलमा गरेको कार्यशालालाई सम्बोधन गर्दै राजनीतिक स्थिरताका लागि ५ वर्ष एउटै दलले शासन गर्न पाउनुपर्ने बताएका हुन् ।

‘चुनावका माध्यमबाट चाहे कांग्रेसले,चाहे एमालेले जसले लोकप्रिय मत प्राप्त गर्दछ, ५ वर्षसम्म त्यसैले शासन गर्न पाउनुपर्दछ। सानातिनाको भारी बोकेर मुलुकलाई अस्थिर बनाउने कुरा अब सोझै अन्त्य हुनुपर्दछ भन्ने मान्यताका आधारमा हामीले राजनीतिक स्थायित्वतर्फ अगाडि बढ्नका लागि मिलेका छौं’ उनले भने ।

यसअघि सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले पनि सोही प्रस्ताव राखेका थिए । केही दिन अघि पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले संविधान संशोधन गर्दा चुनावमा लोकप्रिय मत ल्याउने दललाई ५ वर्षनै सरकारको नेतृत्व दिनुपर्ने प्रस्ताव गरेका थिए । ‘गठबन्धनको सरकार चलाउने एउटा संस्कार, संस्कृति हुन्छ,’ गगनले भनेका थिए, ‘हाम्रो सन्दर्भमा त्यो फिट भएन भन्न मिल्छ । त्यसो भए के हुनुपर्छ ? त्यसो भए जुन पार्टीले लोकप्रिय मत प्राप्त गर्छ त्यसले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ ।’

तर, कांग्रेसका दुई महामन्त्रीको प्रस्तावप्रति कांग्रेसका नेता डा मीनेन्द्र रिजालले भने कडा रुपमा प्रतिवाद गरेका छन् । गत मंगलबार अनेरास्ववियु नेपाल ल क्याम्पस कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व सूचना तथा सञ्चारमन्त्री समेत रहेका रिजालले प्रत्यक्ष निर्वाचित कार्यकारी र सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने जस्ता प्रस्ताव स्वीकार गर्न नसकिने बताएका थिए ।

“मेरो पार्टीको महामन्त्रीले सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउनुपर्छ भन्नुभयो । बाबुरामजीले प्रत्यक्ष निर्वाचित कार्यकारी भएपछि सबै चल्छ भन्नुभयो,” उनले भनेका छन्, “यो भनेको मतलब अब व्यवस्थापिका नराख्ने भनेको हो ? अन्तरनिहित विषय त त्यो हो नि । व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य गर्ने भनेको हो ।”



प्रतिक्रिया दिनुहोस्