काठमाडौं, २५ पुस । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले सात बुँदे सहमतिको अपमान गरेको बताएका छन् । आज (बिहीबार) पृथ्वी जयन्तीको पूर्व सन्ध्यामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले २०८७ मा मात्रै संविधान संशोधन हुन्छ भन्नु सहमतिकै अपमान रहेको बताएका हुन् ।
‘अहिले जो २०८७ मा भनेर प्रधानमन्त्रीले भन्नुभएको छ । मैले असजिलो नमानी यो सात बुँदेको अपमान हो भन्छु । ०८७ मा पुग्ला, ९० मा पुग्ला तर प्रारम्भ गर्नुपर्यो । त्यसका निम्ति सबै पक्षहरु, संसद्मा भएका दलहरुमात्रै होईन, संसद्बाहिर रहेका शक्तिलाई पनि कसरी जुटाउन सक्छौं हामी ?’ उनले भने ।
संविधान संशोधनलगायत सात बुँदे सहमति भएर कांग्रेस–एमालेसहितको वर्तमान सरकार बनेको थियो । वर्तमान सरकारका प्रधानमन्त्री ओलीले ०८७ को माघमा मात्रै संविधान संशोधन हुने भनेर अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिलाई लिएर कांग्रेसका नेताहरु आपत्ति जनाइरहेका छन् ।