काठमाडौ,२५ पुस । नेपाली काङ्ग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको पुरानो भिडिओ सामाजिक सञ्जालमा भाइरल बनाइएको भन्दै आपत्ति जनाएका छन् । गुरुङले पुरानो भिडियो क्लिप सामाजिक संजालमा हालेर अफवाह फैलाउन खोजिएको बताएका छन् ।
नेता गुरुङले उक्त भिडिओ तत्कालीन नेकपाको सरकारविरुद्ध आफने पार्टीले गरेको आन्दोलनमा गरिएको भाषण रहेको पनि उनले बताए । नेता गुरुङले वैचारिक राजनीति गर्न र पतित राजनीतिबाट माथि उठ्न आग्रह गरेका छन् ।
‘पतित राजनीतिभन्दा माथि उठ्ने कि । झण्डै ६ वर्ष पहिले तत्कालीन नेकपाको सरकारविरुद्ध तत्कालीन प्रतिपक्ष दल नेपाली कांग्रेसले गरेको आन्दोलनको मेरो भाषणको भिडियो क्लिप हाल सामाजिक संजालमा प्रचार गरेर प्रोभोक गर्ने कार्य खेद जनक छ। वैचारिक रुपमा प्रतिस्पर्धा गरौं। पतित राजनीतिभन्दा माथि उठौं,’– उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
अहिले कांग्रेस–एमाले दुवै सरकारमा छन् । धनराजमाथि सहकारी ठगीमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले बयान लिइरहेको छ । गुरुङले अहिलेसम्म २ पटक सीआईबीमा पुगेर बयान दिइसकेका छन् । यसरी सहकारी ठगीमा जोडिएर मुद्दा अगाडि बढिरहँदा प्रधानमन्त्री ओलीविरुद्ध गालीगलौज गरेको भिडिओ भाइरल भएपछि उनी आत्तिएका हुन् ।
के भनेका थिए गुरुङले ?
केपी ओलीहरु आज सिंहदरबारमा बसेर जनतालाई लुटिरहेका छन् पनि हामी भन्न चाहन्छौं । नेपाली जनता भनिरहेका छन् । केपी शर्मा ओलीजी यो मैले कुनै मिथ्या कुरा गरिरहेको छैन । वाइडबडी काण्ड के हो ? त्यो लुटेको हो कि होईन ? बुढीगण्डकी काण्ड के हो ? लुटेको हो कि होईन ? फोरजी काण्ड, मेलम्ची काण्ड के हो ? आज भ्रष्टाचारका काण्डैकाण्ड घटाएर गरिबभन्दा गरिब नेपालीले तिरेको करबाट, राज्यको ढुकुटीबाट ब्रह्मलुट गरिरहेको देखिन्छ । ठीक्कसँगले पेटभरीमात्रै खानेलाई खाने भनिन्छ । तर, केपी शर्मा ओलीजी सिंहदरबारमा बसेर खानेमात्रै होईन, भेट भरिएर पनि खाइराख्नेलाई हामी घिच्ने भन्छौं घिच्ने । घिचिरहनु भएको छ तपाईँले आज यो देशको ।