Logo

च्यासलको १० नं निर्णय, जसले वामदेव भित्र्याउने माधवको योजनामा आउनसक्छ तुषारापात



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटीको आठौं पूर्ण बैठक मंगलबार सम्पन्न भयो । पार्टी मूख्यालय च्यासलमा आइतबारबाट सुरु भएको बैठक तीन दिनसम्म चलेर मंगलबार सकिएको हो ।

च्यासलमा बसेको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोख्रेलले सांगठनिक प्रतिवेदन पेश गरेका थिए । महत्वपूर्ण सुझावसहित ती दुवै प्रतिवेदन पारित भएका छन् । साथमा १४ बुँदे समसामयिक प्रस्तावहरु पनि ।

बैठकले राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा परिपूर्ति र समाजवादको लक्ष्य हासिल गर्न पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने प्रण गरेको छ । बैठकमा ओलीले राजनीतिक रूपमा सुस्पष्ट भएर पार्टीद्वारा निर्णित कार्ययोजना कार्यान्वयन गर्न कार्यक्षेत्रमा गएर काममा जुट्न निर्देशन दिएका थिए ।

एमालेको बैठकले पारित गरेका प्रस्ताव १४ वटा भएपनि यतिबेला प्रस्तावको १० नम्बर बुँदालाई लिएर चर्चा भइरहेको छ । एमालेले जारी बैठक अन्त्य गर्दै विभिन्न समयमा एमालेबाट विभाजित शक्तिहरुलाई फेरि पार्टीमा फर्किन आह्वान गरेको छ ।

बैठकपछि जारी प्रस्तावको १० नम्बर बुँदामा भनिएको छ ‘राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता, र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको परिपूर्ति र समाजवादको लक्ष्य हासिल गर्न संभव छ । यस्तो शक्तिको निर्माण नेकपा (एमाले) को नेतृत्वमा मात्रै संभव छ । यस यथार्थलाई मनन गर्दै निर्णायक राष्ट्रिय शक्ति निर्माणको यस अभियानलाई सफल बनाउन पार्टी विभाजन लगायत कारणले पार्टी बाहिर रहनु भएका सबै कमरेडहरु र स्वतन्त्र ढङ्गले क्रियाशील रहनुभएका मित्रहरुलाई नेकपा एमालेमा फर्कन, यसमा आबद्ध हुन र सक्रिय हुन यो बैठक आह्वान गर्दछ’।

पछिल्लो समय एमाले कमजोर बन्दै गइरहेको तथा पार्टी अध्यक्ष ओली अलोकप्रिय बनिरहेको जस्ता कुराहरु उठिरहेका छन् । सरकारको नेतृत्व गरिरहेको दल एमाले कमजोर बनिरहेको र पूर्व उपाध्यक्ष डा भीम रावलसहितका नेताहरुलाई कारबाही गरेर निरंकुशता लाद्न खोजेको आरोपकाबीच एमालेले पूराना सहकर्मीलाई पार्टीमा भित्रिन आह्वान गरेको हो ।

एमालेको सो आह्वानपछि समयकालमा एमालेबाट विभाजित भएका वा एमाले छाडेका केही दल र व्यक्तिले त्यसको स्वागत गर्दै सकारात्मक प्रतिक्रिया दिएका छन् । तत्कालीन नेकपाको विभाजनपछि एमालेबाट अलगिएका पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम अहिले उत्साहित बनेका छन् । ०७८ सालदेखि नेकपा राष्ट्रिय एकता अभियानको नेतृत्व गरिरहेका गौतम अहिले एमालेमा जाने कि एमालेबाट ३ वर्षअघि विभाजित भएको एकीकृत समाजवादीमा भन्नेमा अन्यौलमा छन् ।

एमाले प्रवेश गर्ने पटक-पटकको प्रयासले सार्थकता नपाएपछि गौतमले एकीकृत समाजवादीतिर जाने मन बनाएका थिए । एकीकृत समाजवादीमा तेस्रो वरीयता र वरिष्ठ नेता बनेर जाने लगभग टुंगो लागेको दुवै दलले बताउँदै आएका छन् । केही चरणमा गौतमले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल पनि गरेका थिए । एक दुई साताभित्र नै वामदेवलाई पार्टीमा भित्र्याउने एकीकृत समाजवादीको तयारी छ । तर, केही कुरा मिल्न बाँकी रहेको बताईएको छ ।

वामदेव र एकीकृत समाजवादीबीच बर्ता चलिरहँदा बसेको एमालेको बैठकले गरेको निर्णय सार्वजनिक भएपछि दुवै पार्टीका नेताहरु अन्यौलमा परेका छन् । एकीकृत समाजवादीसँग केही कुरा मिल्न बाँकी रहँदै एमालेले पार्टीमा आउन आह्वान गरेपछि वामदेव अहिले ‘पर्ख र हेर’ को अवस्थामा छन् । यसबारेमा निर्णय लिन २७ गते बैठक डाकिएको छ ।

एमालेले विशेषगरि गौतमलाई एकीकृत समाजवादीमा जानबाट रोक्नकै लागि सो निर्णय गरेको स्रोतको दाबी छ । यसअघि पटक पटक एमालेमा जान खोजेका गौतम सफल भएका थिएनन् । एमाले अध्यक्ष ओलीलाई सार्वजनिक मञ्चबाटै गौतमले पार्टीमा भित्र्याएर भैसेपाटी क्षेत्रको इनचार्ज बनाउन माग गरेका थिए । तर,एमालेले उनको माग सुनुवाइ गरेको थिएनन् । लामो समय बेवास्था गरेको एमालेले अन्तिम समयमा आएर वामदेवलाई रोक्न सो निर्णय गरेको स्रोतको दाबी छ ।

वामदेवले दुई कारणले एकीकृत समाजवादी भन्दा एमालेतिर जाने मन बनाएको स्रोतको भनाई छ । पहिलो,जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्ने शक्ति भएकाले वार्ता र संवादमा पनि एमालेलाई प्राथमिकतामा राखेको कारण वामदेव एमालेमा जान सकारात्मक छन् । एकीकृत समाजवादीमा जबजलाई स्वीकार गर्ने र नगर्ने भन्नेमा अन्यौलता छ । सम्मानीत नेता झलनाख खनाल मदन भण्डारीले प्रतिपादन गरेको जवजलाई स्वीकार गर्न नसकिनेमा छन् । उनी जवजका कट्टर आलोचक हुन् । यहि कारण पनि वामदेव समाजवादीमा भन्दा एमालेमा जान इच्छुक देखिएका छन् ।

दोस्रो, वामदेवले जुन पार्टीमा गएपनि सक्रिय भूमिका खोजेका छन् । एकीकृत समाजवादीमा उनले वरिष्ठ नेताको साथै संगठन विभाग माग गरेका छन् । समाजवादीले भने उनलाई सक्रिय भूमिका दिन चाहेको छैन् । उमेरले ७ दशक पार गरिसकेका गौमतले सक्रिय भूमिका खोजेपनि समाजवादीले पनि उनलाई भित्र्याउन नचाहेको चर्चा पनि हुने गरेको छ । अध्यक्ष माधवकुमार नेपालसँगको छलफलमा उनले संगठन विभाग प्रमुखका रूपमा काम गर्ने इच्छा देखाएका थिए । तर, नेपालले कुनै जवाफ दिएनन् । उनलाई वरिष्ठ नेताबाहेक अर्को जिम्मेवारी दिनेबारे कुनै सहमति भएको छैन ।

गौतमले यसअघि एमालेले सार्वजनिक अपिल गरेमा आफू जान तयार रहेको बताउँदै आएका थिए । एमालेले गौतमको चाहनाअनुरुपनै अहिले सार्वजनिक आह्वान गरेको एक नेताले बताए । ‘झट्ट हेर्दा सामान्य लागेपनि यो निर्णयको अर्थ महत्वपूर्ण छ । वामदेवजी एमालेमा आउने नआउने तत्काल केही भन्न सकिँदैन । तर, यसले उहाँलाई अर्को पार्टीमा जानबाट भने रोक्ने देखिन्छ । अब उता जाने कि पुरानै घर (एमाले) फर्किने त्यो उहाँको हातमा छ । यसअघि पनि अनौपचारिक छलफल भएको थियो । फेरि पनि हामी छलफल गछौं । सकेसम्म एमालेमा फर्काउने हाम्रो कोशिस रहन्छ’ उनले भने ।

एमालेले पार्टीमा फर्किन सार्वजनिक आह्वान गरेपनि एकीकृत समाजवादीले भने तत्काल सम्भव नभएको बताएको छ । एमालेको नेतृत्वमा ओली रहुञ्जेल एकता सम्भव नरहेको बताउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्