Logo

टर्च बालेर एमाले खोज्नुपर्छ भन्ने माधवलाई ओलीको जवाफः ‘झिँगाले सरापेर डिँगा मर्दैन’



काठमाडौं, २५ पुस । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू साधारण र इमानदारिताका साथ काम गर्ने व्यक्ति रहेको बताएका छन् । आज (बिहीबार) पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचनको सन्दर्भमा आयोजना गरेको कार्यशाललाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न पनि विद्यार्थीहरुलाई आग्रह गरे । गत आम निर्वाचनमा विभिन्न दलहरुले गठबन्धन गरेको, एमालेलाई भित्तामै पुर्याइदिन्छु भनेको र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले निर्वाचनपछि टर्च बालेर एमाले खोज्नुपर्छ भनि दिएको अभिव्यक्ति स्मरण गराउँदै ढुक्कसँग स्ववियु निर्वाचनको तयारीमा विद्यार्थीहरुलाई आग्रह गरे ।

‘एमाले यस्तो रक्तवीज हो, त्यो मार्छौं, सिध्याउँछौं भने, कराए । कोही भाला लिएका छन्, कोही धनुवाण लिएका छन् । कोही के बोकेका छन्, कोही के बोकेका छन्, त्यस्तो गरेर कराए । यो चुनावपछि एमाले टर्च लाइट बालेर खोज्दा भेटिँदैन भने । म त यति हौसिएँ, भित्तैमा टाँसिदिन्छु भने । एमालेलाई भित्तामा टाँसिदिने रे । भित्तामा टाँसेपछि फोटो भएन । के भनेनन् । केपी ओली, को केपी ओली, को भने । यति विर्सिने भइसके । यस्तै विर्सिएको राम्रो । मेमोरी पावरले त्यसैगरी काम गरोस् । को केपी ओली भन्ने कुरा म बताउन्नँ । मैले थाहा पाएको भनेको म एउटा साधारण मान्छे हो । इमानदारिताका साथ काम गर्छु । तर, झिँगाले सरापेर डिँगा मर्दैन भन्ने भनाइ नै छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्