Logo

दल विभाजनसम्बन्धी अध्यादेश आउनसक्ने माधवको आशंका, प्रचण्डसँग हारगुहार



काठमाडौं, २५ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । आज (बिहीबार) सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालय दाहाल–नेपालसहित अन्य शीर्ष नेताहरुको भेटवार्ता भएको हो ।

भेटवार्तामा माओवादीको तर्फबाट अध्यक्ष दाहाल, उपमहासचिव वर्षमान पुन सहभागी थिए भने एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष नेपाल, वरिष्ठ नेता बेदुराम भुसाललगायतका नेता सहभागी थिए । भेटवार्ताका क्रममा समसामयिक राजनीतिक घटना क्रम र समाजवादी मोर्चाको विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने संकेत गरेर अभिव्यक्ति दिएलगत्तै एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रचण्ड भेट्न गएका हुन् । आज एमालेनिकट अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले समाजवादीको नाममा खुलेका दलहरुलाई चल्न नदिने अभिव्यक्ति दिएका थिए ।

यता एकीकृत समाजवादी विभाजनको डिलमा रहेको छ । प्रतिनिधि सभामा १० सदस्य रहेको एकीकृत समाजवादीका आधाभन्दा बढी सांसदले पार्टी विभाजनको पक्षमा खुट्टा उचालिरहेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीको अभिव्यक्तिबाट अतालिएर नेपाल र भु्साल प्रचण्ड भेट्न गएको बुझिएको छ ।

गत भदौ ३० गते अन्त्य भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशन अझै आह्वान गरिएको छैन । प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्न आनाकानी गरिरहेको सरकारले भर्खरैै सहकारी सम्बन्धी समस्या समाधानका लागि अध्यादेश ल्याएको थियो । यता राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने गृहकार्य भइरहेको पनि बुझिएको छ । माओवादी स्थायी कमिटी बैठकले समेत सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनसक्ने निष्कर्ष निकालेको थियो ।



प्रतिक्रिया दिनुहोस्