Logo

सूर्यदर्शन सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई धरौटीमा छाड्न आदेश



काठमाडौं, २५ पुस । कास्की जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले छविलाई ८८ लाख रुपैँया धरौटीमा छाड्न आदेश दिएको छ । पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएको उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्तिशुद्धीकरण मुद्दा लगाइएको छ ।

छविसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पनि धरौटीमा छाड्ने आदेश दिएको छ । त्यसैगरी प्रतिवादीहरु रामबहादुर गुरुङ, लिला पछाईं, आरती गुरुङ, कृष्णबहादुर गुरुङ र मिना गुरुङलाई पनि धरौटीमा छाड्ने आदेश भएको छ ।

छविलाल गत असोज ६ गते पक्राउ गरेका थिए । कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएपनि उनी रिहा हुनेछैनन् । छविविरुद्ध सहकारी ठगीमा अन्य अदालतमा पनि मुद्दा विचाराधीन छ । उक्त मुद्दा पुर्पक्षका लागि उनी पुनः तत्काल पक्राउ पर्नेछन् ।

‘पक्राउ परी हिरासतमा रहेका निम्न प्रतिवादीहरू उपर निम्न प्रहरी कार्यालयमा जाहेरी दर्ता भई अनुसन्धान पश्चात सम्बन्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत सम्मानित अदालतमा अभियोगपत्र दर्ता हुने चरणमा रहेको हुँदा निज प्रतिवादीहरू प्रस्तुत कसूरमा छुटी जाने भएमा सम्मानित अदालतहरुमा उपस्थित गराउने प्रयोजनार्थ निज प्रतिवादीहरुलाई प्रहरी कर्मचारी हस्ते जिम्मा लगाई पठाई दिने व्यवस्था हुन अनुरोध छ,’– अभियोग पत्रमा जिल्ला सरकारी वकिलको कार्यालयले भनेको छ ।



प्रतिक्रिया दिनुहोस्