Logo

उर्जामन्त्री खड्काले सार्वजनिक गरे ‘ऊर्जा विकास मार्गचित्र’, १० वर्षमा २८ हजार ५ सय विद्युत उत्पादन गरिने



काठमाडौं, २५ पुस । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकास मार्गचित्र–२०८१ सार्वजनिक गरेका छन् । आज (बिहीबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले ऊर्जा विकास मार्गचित्र सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद्ले उक्त मार्गचित्र यसअघि नै स्वीकृत गरिसकेको थियो ।मार्गचित्रमा सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरिने उल्लेख छ ।

त्यस्तै, आन्तरिक विद्युत प्रसारण र वितरण प्रणालीको क्षमता विकास, विस्तार तथा आधुनिकीकरण, अन्तर्देशीय विद्युत प्रसारण लाइनहरूको वर्तमान अवस्था र दीर्घकालीन आवश्यकता, निर्माणाधीन र उत्पादन उन्मुख जलविद्युत आयोजनाहरू एवं विद्युत प्रसारण लाइनसम्बन्धी आयोजनाहरू विकास गर्न आवश्यक वित्तीय स्रोत, विद्युत व्यापारले देशको आर्थिक र सामाजिक विकासमा पार्ने सकारात्मक प्रभाव, योजनाबद्ध रूपमा जलविद्युत आयोजनाहरू र विद्युत प्रसारण लाइनसम्बन्धी आयोजनाहरू विकास गर्न अवलम्वन गर्नुपर्ने प्रशासनिक, नीतिगत तथा कानूनी सुधार र विद्युतको आन्तरिक खपत वृद्धि गर्ने रणनीतिलाई मार्गचित्रमा समावेश गरिएको छ ।

उर्जामन्त्री खड्काले मार्गचित्रको लक्ष्य प्राप्ति गर्न अप्ठ्यारो नरहेको बताए । बजार सुरक्षित रहेको दाबी गर्दै उनले लगानीको चिन्ता नरहेको बताए । आयोजना प्रभावित क्षेत्रका नागरिकहरुलाई पनि आयोजनाको लगानीमा समावेश गरिने मन्त्री खड्काले बताए । गरिबीको रेखामुनि रहेका नागरिकलाई पनि लगानीका लागि सरकारले निर्व्याजी वा सस्तो व्याजमा ऋण दिने व्यवस्था मिलाइने पनि उनले बताए ।

‘अहिलेको लक्ष्य वैज्ञानिक ढंगले आएको छ । यो सम्भव छ । अब केहीपनि गरेनौं भने त सम्भव नै हुँदैन । अहिले हामीहरुले सरकारसँग पनि छलफल गरेर, अर्थमन्त्रालयसँग खास गरेर छलफल गरेर विभिन्न मोडालिटीहरु हामीले तयार गरेका छौं । यो लक्ष्य प्राप्ति गर्दैगर्दा हामीहरुले प्रभावित क्षेत्रका नागरिकहरुलाई यस क्षेत्रमा समावेश गर्ने उद्देश्यका साथ हामीहरुले यो मार्गचित्र ल्याएका छौं ।

ऊर्जा विकास मार्गचित्र, २०८१ को पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्