Logo

मध्यरातमा कर्णालीका नेतासँग प्रधानमन्त्रीको भेटवार्ता, एआई र पार्टी अनुशासनदेखि पीएचडीसम्मको चर्चा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कर्णाली प्रदेशबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरुले भेटवार्ता गरेका छन् । स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीको संयोजन तथा नेतृत्वमा उनीहरु ओली भेट्न मध्यराती बालुवाटार छिरेका थिए ।

कर्णालीका नेता र ओलीबीच राती ११ बजेदेखि बिहान १ बजेसम्म छलफल भएको भेटमा सहभागी युवा नेता विष्णु रिजालले जानकारी दिए । ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट भयो– हिजो भनौँ कि आज, हिजो राती साढे ११ बजेबाट आज विहान १ बजेसम्म’ उनले भेटपछिको तस्बीर सार्वजनिक गर्दै भनेका छन् ।

प्रधानमन्त्रीसँगको भेटमा कर्णालीका नेताहरुले आगामी बजेटमा कर्णालीलाई समेट्नुपर्ने विषयमा बेलैमा लिखित आग्रह गरेको नेता रिजालले जानकारी दिए । प्रधानमन्त्री ओलीसँगको भेटमा कर्णाली सभ्यता, एआइको प्रयोगात्मक परीक्षण, पार्टी अनुशासनदेखि पीएचडीसम्म कुरा भएको रिजालले जानकारी दिए ।

‘हाम्रो पार्टी नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीको संयोजन तथा नेतृत्वमा कर्णालीबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने हामीहरुले प्रधानमन्त्रीज्यूलाई भेटेर आगामी बजेटमा कर्णालीलाई समेट्नुपर्ने विषयमा बेलैमा लिखित आग्रह गरेका छौँ’ रिजालले भनेका छन् ‘एमाले र कांग्रेसबीचको कार्यदलको बैठक सकेर, बीचमा अरु भेटघाट पनि गरेर व्यस्तताका बीच प्राप्त समयमा उहाँको विस्तृत ज्ञानको दायराबाट विविध विषयमा लाभ हासिल गरियो । कर्णाली सभ्यता एआइको प्रयोगात्मक परीक्षणसम्म । पार्टी अनुशासनदेखि पीएचडीसम्म’ ।



प्रतिक्रिया दिनुहोस्