काठमाडौं, २६ पुस । अधिवक्ता स्वागत नेपालले सहकारी ठगीबारे ‘मलाई केही थाहा छैन’ भन्ने रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ‘तपाईँलाई सबै कुरा थाहा छ’ भनेको टिप्पणी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अदालतको आदेशले रविका सबै दाबीलाई इन्कार गरेको बताए ।
अधिवक्ता नेपालले लामिछानेलाई आदालतले ‘तपाईँले जानी–जानी सहकारी ठगी गर्नु भएको हो’ भनेको टिप्पणी गरे । ‘यो आदेशले अहिलेसम्म उहाँले जे–जे कुरा दाबी गर्नुभएको थियो, ती सबै कुरालाई इन्कार गर्दै ६५ लाख धरौटी माग गर्ने आदेश गर्यो । यसले मलाई केहीपनि थाहा छैन भन्नुभएको कुरा अदालतले अस्वीकार गर्यो । अदालतले तपाईँलाई सबैथोक थाहा छ भन्यो । अदालतले तपाईँले जानीजानी गर्नुभएको हो भन्यो । आदेशले भनेकै यही हो । उहाँ निर्दोष हुनुहुन्छ भन्ने मनासिव आधार देखिएन । तर, यती भएपनि थप प्रमाणहरु बुझ्दै जाने, अहिले चाहीँ उहाँ निर्दोष हुनुहुन्न भनेर भन्यो,’– उनले भने ।
साथै, अदालतले रविले सहकारी ठगी गरेको प्रमाण भेटियो भनेको उनले बताए । उनले भने, ‘उहाँ निर्दोष हुनुहुन्छ भन्न सकिँदैन । मलाई केही थाहा छैन भनेको कुरा सबै थाहा छ । उहाँलाई ६५ लाख रुपैयाँ धरौटी माग गर्यो । यो ६५ लाख रुपैयाँ धरौटी माग गर्नु भनेको चाहीँ उहाँको इन्कारी बयानलाई अदालतले मानेको भए धरौटी मागिँदैन थियो ।’