काठमाडौं, २६ पुस । सहकारी रकम बचत अपचल सम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले कास्की जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा रवि लामिछाने दोषी हुन् भनेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता थापाले सहकारी ठगीमा आफने संलग्नता छैन भनेर रविले इन्कारी बयान दिएपनि अदालतले खातामै पैसा जम्मा भएको प्रमाण फेला पारेको बताए । उनले अदालतको फैसलाले लामिछाने कसुरदार हुन् भनेको दाबी गरे ।
‘अहिलेसम्मको तथ्य, प्रमाणले कसुरदार रहेनछन् भन्न मिलेन । अदालतले यही आदेश गरेको छ । कसुरदार होईनन् भन्ने मनासिव आधार भेटिएन भनेको के हो ? कसुरदार हुन् भनेको हो नि त । अदालतले त्यो कुरा स्थापित गर्यो । उहाँले मेरो खातामा पैसा आएको छैन भनेर जति ढाँटेपनि अदालतको आदेशमा ७५ लाख रुपैयाँ जिबी राईको माध्यम भएर स्ट्यान्डर्ड चार्टर बैंक हुँदै ग्लोबल आइएमई बैंकको उहाँको खातामा जम्मा भएको त प्रष्ट भयो,’– उनले भने ।
साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ता र लामिछाने स्वयंलाई धरै फाँफाँ र फुँफुँ नगर्न सुझाव दिए । उनले लामिछानेलाई कसुरदारको हैसियतमा रहेर व्यवहार गर्नसमेत सुझाव दिए । उनले कसुरदारले उपदेश दिन नसुहाउने बताए ।
उहाँलाई अनुसन्धानको निकायमा लाने मान्छेहरुले लैजान्छन्, छोड्दैनन् । जाने ठाउँमा जानैपर्छ । उहाँ र कुनैपनि व्यक्तिले उन्मुक्ति पाउँदैनन् । मैले पनि गल्ती गरेको छ भने उन्मुक्ति पाउँदिन । यो हाम्रो न्याय निरुपणको अनुसन्धान, अभियोजन, अदालती निर्णय, सुनुवाइ, फैसला कार्यान्वयनको सुन्दरता यही हो । अहिले धेरै फाँफाँ र फुँफुँ गर्नै किन जरुरी छ ? कसुरदारले कसुरदारको हिसाबले व्यवहार गर्नुपर्यो । कसुरदारले उपदेश दिन भएन । ‘अहिलेसम्मको तथ्य प्रमाणले उनी कसुरदार रहेन छन् भन्ने देखिएन’ अदालतले यही भनेको छ ।