काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले सात बुँदे सहमतिभन्दा बाहिर गएर अभिव्यक्ति दिएको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्रीले २०८७ मा संविधान संशोधन हुन्छ भनेको सुन्दा आफूहरु आश्चर्य चकित भएको बताए ।
‘अहिले पनि मलाई के लाग्छ भने विभिन्न दलहरुसँग छलफल चलाउनुपर्छ । छलफल चलाएर एउटा सहमति जुटाउनुपर्छ । संविधान संशोधन गठबन्धन सरकारको महत्वपूर्ण एजेण्डा भएको हुनाले त्यो एजेण्डा छाड्न हुँदैन । किन, कसरी प्रधानमन्त्रीले भन्नुभयो । ०८७ सालमा गरौंला भनेर विशेषगरी उल्लेख गर्नुभयो । त्यो सन्दर्भ हामीले बुझ्न सकेका छैनौं ।’ उनले भने, ‘संस्थागत रुपमा यो विषय अगाडि बढेको छैन । यो कुरा गरौं या नगरौं भन्ने कुरा प्रधानमन्त्री कसैलाई संस्थागत रुपमा भन्नु भएको छैन । यो अचानक यो कुरा आएकोमा हामी आश्चर्य चकित छौं । यस्तो विषयहरु उच्च तहमा छलफल गरेर संस्थागत रुपमा बाहिर आउनु उपयुक्त हुन्छ ।’
साथै, प्रधानमन्त्री ओलीले के सन्दर्भमा संविधान संशोधनको मिति ०८७ मा तोकेको भन्ने आफूहरुले बुझ्न नसकेको उनले बताए । नेता महतले सरकार बन्नुअघिको सात बुँदे सहमतिमा संविधान संशोधनलाई महत्वपूर्ण बुँदाको रुपमा उल्लेख गरिएको बताए । उनले भने, ‘उहाँले के सन्दर्भमा भन्नुभयो ? अब सात बुँदे सहमतिमा संविधान संशोधनको विषय एउटा महत्वपूर्ण बुँदाको रुपमा उल्लेख थियो । संविधान घोषणा गर्यौं, कार्यान्वयनमा ल्यायौं । के–कस्ता कमीकमजोरी देखिए ? कहाँ–कहाँ सुधारको आवस्यक छ ? भन्ने सोचका साथ सात बुँदे समझदारीमा उल्लेख थियो ।’