Logo

प्रधानममन्त्री ओलीले ०८७ सम्म कार्यकाल लम्ब्याउन सक्ने माधवको आशंका, प्रचण्डले भने- सरकार अब रहँदैन



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीचको भेटवार्ता सकिएको छ ।

शुक्रबार दिउँसो सिंहदरबारमा प्रचण्ड र नेपाल भेटवार्ता चलिरहँदा लिङ्देन सिंहदरबार पुगेका थिए । राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार पृथ्वी जयन्तीको अवसरमा आयोजित पार्टीको चियापान समारोहको निम्तो दिन लिङ्देनले प्रचण्ड र नेपाललाई भेट गरेका हुन् ।

संविधान संशोधनको विषयलाई लिएर कांग्रेस र एमालेबीच खटपट सुरु भएको र नेताहरुले नै सत्ता–सहकार्यको भविष्यबारे टिप्पणी गर्न थालेपछि प्रचण्डले राजनीतिक सक्रियता बढाएका छन् ।

तीन नेताको भेटपछि प्रचण्डले अप्राकृतिक ढंगले बनेको ओली सरकार अब नरहने प्रतिक्रिया दिएका छन् । तीन नेताको भेटपछि सिंहदरबारबाट बाहिरिने क्रममा यो सरकार फेल हुने बेला भइसकेको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले भने “यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक, अपारदर्शी छ भन्ने कुरा गम्भीर रूपले सदनमा भनेको सुन्नुभएकै छ, अप्राकृतिक भएकाले अब यो चल्दैन,” ।

यता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने ओलीले ०८७ सालसम्म कार्यकाल लम्ब्याउने र चुनाव नगराउने खेल खेल्नसक्ने आशंका गरेका छन् । ‘०८७ सम्म बस्ने उहाँको चाहना होला। हेरौं, ०८७ सम्म चुनावै नगरिकन बस्ने होकि रु त्यसलाई पनि मान्छेले प्रश्न उठाएका छन्। संसद नै भंग गर्ने मान्छेहरु हुन्, अझै ठेलेको ठेलै गरेर अझै ६ बर्ष बसौला भन्ने सोच्नुभएको छ कि’ उनले भने ।

हिजो (बिहीबार) पनि प्रचण्डले माधव नेपालसँग भेट गरेका थिए । हिजोको भेटको विषय संविधान संशोधनको विषयमा विपक्षी दलहरु एकजुट हुने भन्नेबारे थियो भनिएको थियो । र, समाजवादी मोर्चालाई सक्रिय बनाउने विषयमा दुई नेताबीच छलफलभ एको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको बेलामा माधव नेपालको सक्रियतामा यी भेटवार्ता भएको बताईन्छ । सत्ता साझेदार दल कांग्रेस र एमालेमा खटपट पैदा भएको भन्ने हल्लाकै बीचमा यसरी विपक्षी दलका नेताहरु तारन्तार भेट्नुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्