काठमाडौं, २६ पुस । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत र उनकी श्रीमती सोनी सिन्धु रानीबीच सम्बन्धविच्छेद मुद्दा विचाराधीन छ । ललितपुर जिल्ला अदालतमा डा।राउतले सम्बन्धविच्छेदका लागि फिराद दायर गरेका थिए । सम्बन्धविच्छेदका लागि फिराद दायर गरेसँगै डा.राउतमाथि विभिन्न आलोचना र टिकाटिप्पणी भइरहेको छ ।
तर, डा.राउत भने आफूहरु बीचको यथार्थ नबुझी मिडियाहरुले एकपक्षीय ढंगले आफ्नो बदनाम गराएको बताउँछन् । राजनीतिक रुपमा धेरै पटक पक्राउ परेपनि आफूलाई बदनाम गराउन नसकिएपछि पारिवारिक मामलामा खेल्न खोजेको उनको आरोप छ । आफ्नै पार्टीका केही मान्छे र जनता समाजवादी पार्टी नेपालका केही नेताहरुको प्रभावमा परेर आफूमाथि सोनीले विभिन्न किसिमका आरोप लगाएको उनले बताए ।
प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलाले ‘आफ्नै श्रीमतीलाई न्याय दिन नसक्ने नेताले देश कसरी हाँक्न सक्छ ?’ भनी सोधेको प्रश्नमा उनी आफ्नो घर जसपाका नेताहरुको कारण भाँडिएको सुनाउँछन् ।
प्रश्नको जवाफ दिँदै उनी भन्छन्, ‘त्यतातिर नजाऔं, यसलाई राजनीतिसँग नजोडौं । म त आफैं यति हैरान, परिसान र दुखित् छु, मलाई बदनामीसँग पनि धेरै केही छैन, राजनीति करियर पनि केही छैन । श्रीमती भलै उसले मलाई दुस्मन ठानोस् । मलाई ध्वस्त पार्न लागोस् । दिनभरी जसपाका नेताहरुसँग, विरोधीहरुसँग, मेरा दुस्मनहरुसँग नै बैठक गरेर सिके राउतलाई कसरी ध्वस्त पार्ने ? एक सय एक षड्यन्त्र बुन्छ । ठीक छ केही छैन म चाहीँ अझैपनि उसको स्वास्थ्यको विषयबारे चिन्तित छु । अरु पनि यति संवेदन बन्दिउन्, उनको उपचार होस् ।’
जसपाका नेताहरु आफ्नी श्रमती सोनीसँग मिलेर अनेक षड्यन्त्र बनाइरहेको उनको आरोप छ । उनले जसपाका नेताहरुले आफ्नी श्रीमतीलाई मारिदिएर भोलि आफूमाथि आरोप लगाउन सक्नेसमेत आशंका व्यक्त गरे । उनले भने, ‘जसपाका नेताहरु अहिले लुकीलुकी हिड्छन् । उसको मर्डर गर्दियो भने त्यो आरोप कोमाथि आउँछ ? म माथि आउँछ । त्यो भएको हुनाले म संवेदनशील छु ।’
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलक्षित गर्दै उनले ती मानिसहरुलाई आफूले चिनेको र कुनै दिन सार्वजनिक गर्ने बताए । उनले भने, ‘मैले चिनेको छु । कुनै दिन नाम खुलाउँला । सार्वजनिक ठाउँमै समातेर ल्याइदिउँला ।’
साथै, उनले राज्य नै आफूलाई बदनाम गराउन र फसाउनका लागि लागिपरेको बताए । उनले आफू सही बाटोमा हिँडेकाले ईश्वरको कृपाले अहिलेसम्म कुनै झमेलामा नपरेको बताए ।