काठमाडौं, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनका कारण पृथ्वी जयन्ती संयुक्त रुपमा मनाउने वातावरण नबनेको बताएका छन् । आफूले पृथ्वी जयन्तीको दुई हप्ता अगाडि नै लिङ्देनलाई संयुक्त रुपमा पृथ्वी जयन्ती मनाउन र पार्टी एकताको बाटोमा अगाडि बढ्न प्रस्ताव गरेपनि त्यो सम्भव नभएको बताएका हुन् ।
यसपटक पृथ्वी जयन्ती संयुक्त रुपमा मनाउन सम्भव नभएपनि आगामी दिनमा सबैको सद्भाव, स्नेह रहेको खण्डमा र लिङ्देन तयार भएको खण्डमा संयुक्त रुपमा पृथ्वी जयन्ती मनाइने उनले बताए । लिङ्देन नेतृत्वको राप्रपा र आफ्नो पार्टी एकताको सम्भावना भने कायमै रहेको उनले बताए ।
‘मैले करिब दुई हप्ता अगाडि यसबारेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग कुरा गरेको थिएँ । अहिले समय, परिस्थितिको मागलाई दृष्टिगत गर्दै पार्टी एकतातर्फ अगाडि बढौं । सम्भव हुन्छ भने पृथ्वी जयन्ती संयुक्त रुपमै मनाऔं भनेर उहाँलाई आग्रह गरेको थिएँ । तर, हुनसक्छ समयको अभाव र त्यसका साथसाथै गर्नुपर्ने तयारीको कमीको कारणले गर्दाखेरी यसपटक त्यो सम्भव भएन,’– अध्यक्ष थापाले भने ।
साथै, उनले अब राजादेखि माओवादीसम्म अटाउने नेपाली संस्करणमा मौलिक प्रजातन्त्रको विकास आजको आवस्यकता रहेको बताए ।