Logo

सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको राप्रपाको निष्कर्ष, सशक्त प्रतिवाद गर्ने चेतावनी



काठमाडौं, २७ पुुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको टिप्पणी गरेका छन् । आज (शनिबार) राप्रपाले आयोजना गरेको चियापान समारोहमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको र यसले प्रजातन्त र बहुदलीय व्यवस्थासमेत मास्न चाहिरहेको बताएका हुन् ।

सरकारले पछिल्लो समय ल्याइरहेको विधेयकमा केन्द्रीत हुँदै अध्यक्ष लिङ्देनले भने, ‘यो सरकार सर्वसत्तावादतर्फ गइराखेको छ । नियमित रुपमा बोलाउनुपर्ने संसद् नबोलाएर देश अध्यादेशको बाटोमा लैजानुभनेको यो सरकारको नियत के हो भन्ने कुरा यसैबाट प्रष्ट हुन्छ । यो सरकार प्रजातन्त्र र बहुदलीय व्यवस्थासमेत मास्न चाहन्छ । यसको हामीले सशक्त प्रतिवाद गर्छौं ।’

त्यस्तै, फरक प्रसंगमा उनले एकअर्काको शर्त मिलेको र विश्वासको वातावरण सिर्जना भएको खण्डमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग एकता हुने बताए । उक्त चियापान समारोहमा राप्रपा नेपालका अध्यक्ष कमल थापापनि सहभागी भए । राप्रपाका अध्यक्ष लिङ्देनले भने, ‘सधै सम्भावना छदै छ नि । कुरा मिल्यो, शर्तहरु मिले, एकअर्कामा विश्वासको वातावरण सिर्जना भयो भने जुनसुकै बेला मिल्न सकिन्छ ।’



प्रतिक्रिया दिनुहोस्