Logo

प्रधानमन्त्री ओली उल्टो बाटोको उत्कर्षतिर हुनुहुन्छ, सरकार आफैं ढल्दैछः माओवादी नेता दाहाल (भिडिओसहित)



काठमाडौं, २८ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट शासन गर्न खोजेको टिप्पणी गरेका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकार सदनदेखि डराएको बताएका हुन् । उनले प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत शासन गर्ने दुष्प्रयास गरिरहेको टिप्पणी गरे । प्रधानमन्त्री ओली अलोकतान्त्रिक, स्वैच्छाचारी हुँदै निरङ्कुशतातर्फ अगाडि बढिरहेको उनको आरोप छ ।

‘महाविपत्ति पर्दा चाहीँ विदेशतिर घुम्न जाने केपी ओली । तर, अहिले अध्यादेशमार्फत शासन गर्न खोज्नुभएको छ । संसद् छल्ने, अध्यादेश ल्याउने, संसद्देखि सरकार डराइरहेको छ र संसद्मा उपस्थित हुन गएका छ महिनामा कुनै एजेण्डा पनि छैन । कुकर्म, दुष्कर्मबाहेक कुनै काम नगरेकाले उहाँहरु संसद् छलेर अध्यादेशमार्फत् शासन गर्ने दुष्प्रयास गर्नुभएको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ । यो अलोकतान्त्रिक, स्वैच्छाचारी छ । निरङ्कुश कदमको सुरुवातको रुपमा हामीले यसलाई परिभाषा गर्न सक्छौं,’– उनले भने ।

साथै, प्रधानमन्त्री ओलीले निकै चर्चामा रहेको दल विभाजनसम्बन्धी अध्यादेश नेपाली कांग्रेसको असहयोगका कारण ल्याउन नसकेको उनले बताए । प्रधानमन्त्री ओली दल फुटाउने, बेथिति र अराजकता सिर्जना गर्ने, अझ बढी असन्तुलन र अस्थिरता सिर्जना गर्ने सोचका साथ अगाडि बढिरहेको नेता दाहालको आरोप छ ।

‘दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने विषयमा नेपाली कांग्रेसको तर्फबाट असहमति जाहेर भएकै तयारी भएर पनि ल्याउन नसकेको विधेयक हो । ओलीजी त ल्याउने र साना पार्टीहरुलाई फुटाउने, बेथिति र अराजकता सिर्जना गर्ने, अझ बढी असन्तुलन र अस्थिरता सिर्जना गर्ने प्रक्रियाको नेतृत्व गर्ने सोच छ उहाँको,’– उनले भने ।

ओली प्रधानमन्त्री भएको पहिलो दिनदेखि नै उल्टो बाटोमा हिँडिरहेको नेता दाहालको आरोप छ । उनले प्रधानमन्त्री ओली उल्टो बाटोको उत्कर्षतिर रहेको दाबी गरे । नेता दाहालले माओवादीले सरकार ढाल्न नचाहेको भएपनि यो आफैं गल्दै गएको बताए ।

‘कांग्रेस–एमालेको सरकार २०८४ सम्म चलोस् भन्ने हाम्रो चाहना छ । सरकार ढाल्ने विषय त हामीले सोचेका छैनौं । सरकार आफैं ढल्दैछ, आफैं गल्दै छ । सरकार त जनविरोधी छ । अंक गणितको हिसाबले उहाँ बलियो देखिनुहुन्छ । तर, सबैभन्दा कमजोर धरातलमा उभिएको सरकार इतिहासमा कसैको छ भने ओली सरकार हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्