काठमाडौं, २८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले चिया पसल खोल्नपनि सरकारले २५ लाखसम्म स्टार्टअप कर्जा दिने बताएका छन् । उद्यमी युवाहरुलाई प्रोत्साहन गर्नका लागि सरकारले दिँदै आएको २५ लाख सम्मको स्टार्टअप कर्जा चिया पसल सञ्चालन गर्नेहरुले पनि पाउने उनको भनाइ छ । आइतबार प्रधानमन्त्री ओलीले ताप्लेजुङका एक चिया पसल सञ्चालकबारे सामाजिक सञ्जालमा लेख्दै २५ लाख सम्मको स्टार्टअप कर्जा दिने व्यवस्था भएको जानकारी गराएका छन् ।
‘आज बिहानै सामाजिक सञ्जालमा देखें-उनी ताप्लेजुङका १९ वर्षीय युवा विनम राई रहेछन् । जो चियापसल चलाउँदै आएका छन्। उनको हँसिलो अनुहार र सरल व्यवहारले धेरैको मन जितेको रहेछ। दोकानका साहुजी अरु नै भएपनि साहुजी उनलाई नै दोकान जिम्मा लगाएर आफ्नो काममा गएका रहेछन्’ ओलीले भनेका छन् ‘त्यहाँ आउने मानिसहरुको साथ र उनीहरुले गरेको सहयोगको कारण भाइको विदेश नगई त्यहीँ चियापसल खोल्ने सपना रहेछ। लगनशीलताका साथ काम गरियो भने यहीं सफल भइन्छ, विदेशमा गर्नेजति काम यहीं गरे त्यहाँ हुनेजस्तो प्रगति नहुने कुरै छैन। अहिले यस्ता उद्यमी युवाहरुलाई सरकारले २५ लाख रुपैयाँ सम्मको स्टार्टअप कर्जा दिने गरेको छ । भाइलाई उज्ज्वल भविष्यको शुभकामना’ ।
सरकारले यस आर्थिक वर्षमा ७ सय जनाका लागि स्टार्टअप उद्यम कर्जा दिनेगरि बजेटमा उल्लेख गरेको थियो । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि चालु आर्थिक वर्षको बजेटमार्फत एक अर्ब रुपियाँ विनियोजन गरेको छ ।
गत आर्थिक वर्षमा उद्यमीले न्यूनतम पाँच लाख रुपियाँदेखि २० लाख रुपियाँसम्म स्टार्टअप उद्यम कर्जा पाएका थिए । गत आव स्टार्टअप उद्यम कर्जाका लागि २५ करोड रकम विनियोजन गरेको थियो । File Photo/RN