Logo

राष्ट्रिय समता पार्टी नेपाल घोषणा, संघीय हिन्दू लोकतन्त्र प्रमुख एजेन्डा



काठमाडौं, २९ पुस । संघीय हिन्दु लोकतन्त्र प्रमुख एजेन्डासहित राष्ट्रिय समता पार्टी नेपाल घोषणा गरिएको छ । रौतहटको दुर्गा भगवती गाउँपालिकामा आज हजारौँको जनसहभागिताकाबीच सो पार्टी घोषणा गरिएको हो ।

अयोध्या श्रीरामलला मन्दिर प्राण प्रतिष्ठाको प्रथम वार्षिकोत्सवको अवसरमा आज उक्त पालिकाको वडा नं २ भलोहिया स्थित रहेको श्रीराम जानकी मठ परिसरबाट व्यापक उपस्थिति सहितको उल्लासमय वातावरणमा निकालिएको बृहत् शोभा यात्रा पश्चात् पार्टी घोषणा कार्यक्रम गरिएको सो पार्टीका केन्द्रीय अध्यक्ष विजयप्रकाश निषादले जानकारी दिए ।

‘हजारौँ नागरिकको जन सहभागितामा आज हामीले पार्टी राष्ट्रिय समता पार्टी नेपाल घोषणा गरेका छौँ । जनतालाई गाँस बाँसको व्यवस्था तथा पीडित नेपाली नागरिकको सहयागका विषयमा हामी आवाज उठाउने छौँ,’– उनले भने ।

पार्टीले गाँजा खेतीलाई प्रोत्साहन गर्ने, जनतालाई गाँस, बाँसको व्यवस्था गर्ने बताइएको छ । राष्ट्रिय समता पार्टी नेपालको सरकार आएको खण्डमा मेडिकल, पर्यटन र एजुकेसन टुरिजमलाई स्थापित गर्ने, एक वडा व्यवस्थित विद्यालय र एक पालिकामा कम्तिमा पनि ५० शैयाको अस्पताल व्यवस्था गर्ने अध्यक्ष निषादले बताए ।

सो पार्टीका राष्ट्रिय अध्यक्षमा विजयप्रकाश निषाद, वरिष्ठ उपाध्यक्ष विशाल झा, महासचिव डा.अभिषेक तिवारी, प्रवक्ता अधिवक्ता रणवीर कुशवाहा, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख पं.श्रीनन्दन भारद्वाज, मधेस प्रदेश अध्यक्ष विवेक शाह कानु रहेका छन् ।

यसैगरी, पार्टीका केन्द्रीय सदस्यहरुमा रौतहट जिल्लाको प्रेस विभाग प्रमुख उमेश सराफ र साधुसन्तहरु समेतको उपस्थितिमा दुर्गा भगवती गाउँपालिका रौतहटमा पार्टी अध्यक्ष अथर्मेन्द्र महतो अध्यक्षतामा हजारौँ हजारको बृहत उपस्थितिमा पार्टीको घोषणा गरिएको थियो । पार्टी घोषणा समारोह दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अथर्मेन्द्र महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

राष्ट्रिय समता पार्टी नेपालले संघीय हिन्दू लोकतन्त्रलाई प्राथमिकतामा राख्दै समतामूलक समाज निर्माणका लागि काम गर्ने लक्ष्य लिएको बताइएको छ । पार्टीको घोषणासँगै उक्त क्षेत्रको राजनीतिक परिदृश्यमा नयाँ परिवर्तनको संकेत देखिएको जानकारहरु बताउछन् ।



प्रतिक्रिया दिनुहोस्