Logo

जलश्रोतका तत्कालीन इन्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा, साढे ४ करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप



काठमाडौं, २८ पुस । जलश्रोत तथा सिंचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएको छ । आज (आइतबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा ४ करोड, १३ लाख, ९५ हजार पाँच सय २८ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

श्रेष्ठले सिंचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाहरुबाट ठेकेदारहरुसँग मिलेमतो गरी कमिसन लिई काठमाडौं, ललितपुरलगायत विभिन्न स्थानहरूमा घरघडेरी जग्गाहरु, गाडी तथा विभिन्न कम्पनीका शेयर तथा कम्पनीमा लगानी गरेको खुल्न आएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

२०४६ सालमा सेवा प्रवेश गरेर २०७७ सम्म श्रेष्ठले ३१ वर्षे जागिरे अवधिमा ११ करोड २५ लाख ६५ हजार एक सय ९९ वैधानिक आय गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ । तर, उनले १६ करोड १३ लाख ९५ हजार पाँच सय २८ खर्च तथा लगानी फेला परेको छ ।

उनले गैरकानूनी रूपमा ४ करोड ८८ लाख ३० हजार पाँच सय २८ रुपैयाँ आर्जन गरेको अख्तियारको दाबी छ । अवैध रुपमा आर्जन गरेको उक्त सम्पत्ति जफत गरी असुल उपरको मागदाबी लिइएको छ ।

साथै,.श्रेष्ठले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत पत्नी लक्ष्मीकुमारी श्रेष्ठ, बाबु हरिकुमार श्रेष्ठ, आमा इन्द्रकुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठसमेतको नाममा राखेको देखिएको आरोपपत्रमा उल्लेख छ । उक्त सम्पत्ति जफत गर्ने प्रयोजनको लागि सबैलाई प्रतिवादी बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्