Logo

विपिनको रिहाइका लागि परराष्ट्रमन्त्री राणाले कतारका विदेशमन्त्रीसँग कुराकानी गर्ने



काठमाडौं । परराष्ट्रमन्त्री डा अरजु राणा देउवाले इजरायलमा वेपत्ता नेपाली युवा विपिन जोशीको सकुसल रिहाईका लािग भोलि कतारका विदेशमन्त्रीसँग कुराकानी गर्ने भएकी छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा उनले विपीन रिहाइको पहलका निम्ति फेरि कतारलाई आग्रह गर्न लागिएको जानकारी गराइन् ।

“भोलि कतारका विदेशमन्त्रीसँग टेलिफोनमा कुराकानी गर्ने कार्यक्रम छ, हमासको नियन्त्रणमा रहेका विपीन जोशीको रिहाइको लागि,” उनले भनिन् ।

७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको किब्बुज–अलुमिममा हमास समूहले आक्रमण गरी नेपाली विद्यार्थी विपिनलगायतलाई बन्धक बनाएर गाजातर्फ लगेको बताइएको छ । त्यसयता विपिनको बारेमा आधिकारिक कुनै खबर आएको छैन ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’कार्यक्रमअन्तर्गत इजरायल गएका थिए। सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए। हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो।



प्रतिक्रिया दिनुहोस्