काठमाडौं, २९ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गलत बाटोमा हिड्न खोजिरहेको टिप्पणी गरेका छन् । नेपाली जनसम्पर्क समिति बेलायतद्वारा लण्डनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार निरङ्कुशतातिर अगाडि बढ्न खोजेको बताएका हुन् ।
संसद् अधिवेशन आह्वान गरेर विधेयक अगाडि बढाउनुपर्नेमा सरकारले धमाधम अध्यादेश ल्याइरहेको बताउँदै उनले यसले कांग्रेसलाई अप्ठ्यारो पारिरहेको दाबी गरे । नेता कोइरालाले अहिले अध्यादेश ल्याउनुपर्ने जरुरत नै नरहेको बताए ।
साथै, उनले प्रधानमन्त्री ओलीले २०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भनेर हाँस्यास्पद अभिव्यक्ति दिएको बताए । उनले एमाले–कांग्रेसले मात्रै नभएर माओवादी केन्द्रलाई पनि साथमै लिएर संविधान संशोधनका लागि अगाडि बढ्नुपर्ने उनको भनाइ छ । कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमतिको मूल मर्म नै संविधान संशोधन रहेको बताए । उनले भने, ‘त्यो अध्यादेश ल्याएर कांग्रेसलाई अप्ठ्यारो पारिदिने, किनभने हामी त लोकतान्त्रिक पार्टी हौं,’– उनले भने ।