काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस जारी छ । अहिले सरकारी वकिलको बहस सकिएर जाहेरवालाको तर्फबाट बहस भइरहेको छ ।
न्यायाधीश माधव अधिकारीको इजलासमा भइरहेको थुनछेक बहस आज नसकिने निश्चित भएको छ । बहस नसकिने भएकाले लामिछानेलाई आज पनि न्यायिक हिरासतमा पठाइने सम्भावना बढेको छ ।
सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, सहायक जिल्ला न्यायाधिवक्ता चन्द्र सन्जेल, जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवाल, बिना खड्का, राधिका सुवाललगायतले बहस गरेका थिए ।
सरकारी वकिलको तर्फबाट बहस सकिएसँगै अहिले जाहेरवालाको तर्फबाट बहस भइरहेको छ । जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्तात्रयय दीनेश त्रिपाठी, स्वागत नेपाल र सुरेन्द्र भण्डारीलगायतले बहस गर्नेछन् । प्रतिवादी लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र सुशील पन्तले बहस गर्नेछन्।
आज कार्यालय समयभित्र मात्रै बहस गराइने र भोलि सार्वजनिक बिदा परेको हुँदा नसकिए बुधबारमात्रै गराइने अदालत स्रोतले जनाएको छ । न्यायाधीश अधिकारीले पनि थुनछेक बहस आज नसकिने भएको बताएका छन्।
बिहान बहस सुरु हुनुअघि न्यायाधीश अधिकारीले सरकारी वकिलका तर्फबाट २ घन्टा र लामिछानेका तर्फको बहस सवा १ घण्टामा सक्न निर्देशन दिएका थिए। तर, समय सीमाभित्र बहस नहुँदा आज नसकिने भएको हो ।
रविको तर्फबाट बहस भएपछि पुनः सरकारी वकिलले जबाफी बहस गरेपछि न्यायाधीशले आदेश गर्नेछन्।
रविको पक्षमा बहस गर्न लागेका श्रेष्ठ र पन्त दुवै जना पूर्व महान्यायाधीवक्ता हुन् । यसअघि कास्की जिल्ला अदालतमापनि रविको पक्षमा नै उनीहरुले बहस गरेका थिए । कास्कीको सूर्यदर्शन सहकारी ठगीमा भने लामिछाने बिहीबार धरौटीमा रिहा भएका थिए । जिल्ला न्यायाधीश नीतिज राईको इजलासले रविलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो ।
लामिछानेविरुद्ध संगठितरूपमा ठगी गरेको आरोप छ । सो प्रकरणमा रविसहित ३९ जनाविरुद्ध पुस २१ गते काठमाडौंमा मुद्दा दायर भएको थियो ।