काठमाडौं, २९ पुस । सरकारले विश्व बैंकबाट प्राप्त हुने करिब १ अर्ब ६३ करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने भएकको छ । मन्त्रिपरिषद् बैंकले समृद्धिका लागि वन परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्नेसहित विभिन्न २८ वटा निर्णय गरेको हो ।
त्यस्तै, सरकारले नागरिक लगानी कोषको चुक्ता पुँजी बृद्धि गरी ६ अर्ब ४८ करोड १७ लाख १२ हजार २ सय ५० कायम गर्न स्वीकृति प्रदान गरेको छ । बैठकले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यवासायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश–२०८१ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले पाटन उच्च अदालतका न्यायाधीश विदुर कोइरालालाई विशेष अदालतको सदस्य तोकेको छ । नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका १५ जना अधिकृतहरुलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गरेको छ । ९ जना राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरुको सरुवासमेत गरिएको छ ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले युवा तथा खेलकुदमन्त्रीलाई मलेसियामा आयोजना हुने कार्यक्रममा सहभागी हुन र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई साउदी अरेवियाको रियादमा आयोजना हुने कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गरेको छ । File Photo/RN