काठमाडौं, १ माघ । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले सरकारले सदन छल्न खोजेको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सदनबाटै सहज ढंगले प्रक्रिया अगाडि बढ्नसक्ने स्थिति हुँदाहुँदै अध्यादेश आउनु लोकतन्त्रका लागि खतरा रहेको बताए । सदन डाक्नै नसक्ने अवस्था, भवितव्य, काबुभन्दा बाहिरको परिस्थितिलगायतको अवस्थामा अध्यादेश आउनु स्वभाविक भएपनि दुई तिहाइ बुहमतको नजिक रहेको सरकारले अध्यादेशबाट शासन गर्न खोज्नु गलत रहेको उनको भनाइ छ ।
‘हिउँदे अधिवेशन बोलाउनुपर्ने बेलामा, सदनबाटै सहज ढंगले प्रक्रिया अगाडि बढ्नसक्ने स्थिति हुँदाहुँदै संसद्लाई छलेर अध्यादेश जारी गर्ने काम भएको छ । यो लोकतन्त्रविरुद्ध हो, नोकरशाही र तानाशाही प्रवृत्ति हो । अध्यादेश सदन डाक्नै नसक्ने अवस्था पैदा भएको स्थितिमा, भवितव्य, काबुभन्दा बाहिरको परिस्थिति सिर्जना भएको परिस्थिति कानुनहरु कार्यान्वयन गर्न, बाधा अड्काउ फुकाउका लागि अध्यादेश हो,’– उनले भने ।
साथै, फरक प्रसंगमा उनले माओवादी सरकार ढाल्ने पक्षमा नरहेको बताए । अहिलेको अन्तर्राष्ट्रिय र भू–राजनीतिक परिस्थिति, डेमोक्रेशीलाई संस्थागत रुपले अगाडि बढाउनुपर्ने अभिभारा, राष्ट्रियता, स्वाधीनातालाई जोगाएर अगाडि बढ्नुपर्ने अवस्थामा छ÷छ महिनामा सरकार ढाल्ने काम माओवादीले नगर्ने उनले बताए । महासचिव गुरुङले माओवादीले विमती रहेको एजेण्डामा सचेत र खबरदारी गर्ने, सुधार गर्न पहल गर्ने बताए ।
‘अहिले सरकार ढाल्ने, फेरबदल गर्ने दिशातर्फ माओवादी छैन । आफ्नै कारणले ढल्ने कुरा अलग हो । सरकारको नालायकिपना र आफ्नै समस्याले गर्दाखेरी, आफूभित्रको अन्तरविरोध, जनविरोधी कामले गर्दा आफैं ढल्ने अलग कुरा हो । हामी सरकार ढाल्ने पक्षमा छैनौं ।’ उनले भने, ‘जनताका दैनिक समस्या, सहकारी, वित्तीय संकट र मिटरव्याजी समस्या समाधान गर्न सरकारलाई ध्यानाकार्षण र खरदारी गर्ने कुरामा जोड दिइरहेको छ । तर, सरकार ढाल्ने कुरामा माओवादी लागेको छैन ।’
उनले छ महिनाको अवधिमै वर्तमान सरकार पूर्ण रुपमा असफल भएको पुष्टि भइसकेको उनले बताए । भ्रष्टाचार नियन्त्रण र सुशासनको लागि पहल गर्नुपर्ने सरकार उल्टै संरक्षणको प्रक्रियाबाट अगाडि बढेको महासचिव गुरुङको दाबी छ । महासचिव गुरुङले सरकारले परराष्ट्र नीतिमा पनि सन्तुलनको नीति अपनाउन नसकेको र डेमोक्रेशीलाई पनि खतरा पैदा हुँदै गएको बताए ।
‘यो सरकार विफल भएको छ भन्ने देखिन्छ । भ्रष्टाचार नियन्त्रण र सुशासनको लागि पहल गर्नुपर्नेमा उल्टै संरक्षणको प्रक्रियाबाट गइरहेको छ । प्रतिशोध, निधेष, दुई दलीय सर्वसत्तावादको प्रक्रियाबाट गइरहेको छ । मल्टी पार्टी डेमोक्रेशीलाई सिध्याउने प्रक्रियाबाट गइरहेको छ । डेमोक्रेशीमाथि खतरा पैदा गराउने प्रक्रियाबाट गएको छ ।