Logo

ओली प्रधानमन्त्री भएको बेला लोकतन्त्रामाथि नै खतरा आउँछः मेटमणि चौधरी (भिडिओसहित)



काठमाडौं, १ माघ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव मेटमणि चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण नेपालको लोकतन्त्रमा खतरा रहेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओली प्रधानमन्त्री बनेको समयमा लोकतन्त्रमाथि नै खतरा हुने गरेको बताए । नेता चौधरीले दल विभाजनसम्बन्धी अध्यादेश आउने प्रयत्न जारी नै रहेको बताए । ओलीले अध्यादेशमार्फत शासन गर्न खोजेको, सुशासन दिन नसकेको, आफूमाथि उठेका कयौं प्रश्नहरुको जवाफ नदिएको, जनतालाई निराश बनाएको र लोकतन्त्र मास्न उद्धत भएको नेता चौधरीको आरोप छ ।

‘अहिले स्थायित्व दिने कुरा गरिराख्दाखेरी दल विभाजनसँग सम्बन्धित अध्यादेश ल्याउने प्रयत्न गरिराख्नु भएको छ । लोकतन्त्रको कुरा उहाँले गरिराख्नु भएको थियो, अहिले पनि संसद् बोलाउनु भएको छैन । अध्यादेशमार्फत सरकार चलाउन खोज्नु भएको छ । त्यसैले प्रधानमन्त्री कुनै पनि हिसाबले, न लोकतन्त्रको हिसाबले ठीक हुनुहुन्छ,’ उनले भने, ‘न लोकतन्त्र जोगाउन सक्नुहुन्छ ? न सुशासन दिन सक्नुहुन्छ, न आफूमाथि आइपरेका थुप्रै जुन प्रश्नहरु छन्, न त्यसको जवाफ दिन सक्नुहुन्छ । त्यसैले अहिले सबैभन्दा धेरै काम लोकतन्त्र मास्ने विषयमा, कुशासन दिने विषयमा, नेपाली जनतालाई निराश बनाउने विषयमा सबैभन्दा धेरै, सबैभन्दा ठूलो काम त गर्नुभयो ।’

वर्तमान सरकार सुशासनका लागि नबनेको उनको ठोकुवा छ । विगतमा आफू र आफ्नो दलका नेताहरुले गरेको भ्रष्टाचारको ढाकछोप गर्न वर्तमान सरकार सरकार बनेको उनले दाबी गरे । सरकार संविधान संशोधनको एजेण्डाबाट पनि पछि हटेको भन्दै उनले आपत्ति जनाए ।

‘यो सुशासनको लागि बनेको सरकार होईन । सुशासनको लागि नबनेपछि सुशासन दिने कुरै आउँदैन । यो छ महिनाको बीचमा हिजोको दिनमा आफूले गरेको अपराध, भ्रष्टाचारलगायत अनेकौं क्रियाकलाप जुन थिए, ती कार्यहरुलाई वैध बनाउने कुरा, छोप्नको लागि कामहरु भएको मैले देखेको छु । यो सरकारले हिजो दिनमा संविधान संशोधनको कुरा गरेको थियो, आज व्याक हटेको छ । समृद्धिको कुरा गरेको थियो, झन–झन आर्थिक संकट निम्तिएको छ । राजनीतिक स्थायित्वको कुरा गरेको थियो, झन अस्थिर भएको छ । यी सबै कुरा भन्नका लागि थियो,’– उनले भने ।

प्रधानमन्त्री ओलीले सबैभन्दा धेरै काम गरिरहेको छु भनेपनि उनलाई दुनियाँले गफाडी भनिरहेको नेता चौधरीले बताए । ‘उहाँले आफूलाई सबैभन्दा धेरै काम गरेको भन्नुहुन्छ । तर, यो दुनियाँका सबै मान्छेहरुले उहाँलाई सबैभन्दा धेरै गफाडी प्रधानमन्त्री भनेको मैले सुनेको छु,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्