काठमाडौं, १ पुस । नेकपा (एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने तयारी भइरहेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अबको केही दिनमै वामदेव एकीकृत समाजवादीमा आउने बताए । नेता चौधरीका अनुसार वामदेवसँगै आउने अन्य नेताहरुलाई पनि पार्टीले उचित जिम्मेवारी दिने तयारी गरेको छ ।
‘धेरै महत्वपूर्ण जिम्मेवारी लिनेगरी उहाँ हाम्रो पार्टीमा आउनुहुन्छ,’ उपमहासचिव चौधरीले भने, ‘उहाँसँगै जोडिएका साथीभाइहरुले पनि महत्वपूर्ण जिम्मेवारी पाउनुहुन्छ ।’
त्यस्तै, एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडा पनि गौतमले महत्वपूर्ण जिम्मेवारी पाउने बताउँछन् । उपाध्यक्ष खतिवडाका अनुसार गौतमलाई वरिष्ठ नेता बनाइने गृहकार्य भइरहेको छ ।
यसरी जिम्मेवारीको समेत टुङ्गो लागिसक्दा वामदेव भने एमालेमा जाने कि एकीकृत समाजवादीमा भन्ने दोधारमै छ । वामदेव प्रधानमन्त्रीसमेत रहेको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ग्रीन सिग्नलको पर्खाइमा छन् । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक रहेका वामदेव एमाले पाए सानो कम्युनिष्ट पार्टीमा नजाने दाउमा छन् । File Photo/RN