Logo

आन्दोलनका तमाम उपलब्धीहरुलाई ओली-देउवाले समाप्त पार्न खोज्नुभएको छ, त्यो हामीलाई स्वीकार्य छैनः अमरेश सिंह



काठमाडौं, १ माघ । प्रतिनिधि सभा सदस्य डा.अमरेश कुमार सिंहले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनका उपलब्धीहरुलाई कांग्रेस–एमालेले समाप्त पार्न खोजेको आरोप लगाएका छन् । संविधान संशोधनको विषयलाई लिएर आयोजना गरिएको मधेश केन्द्रीत दलहरुको छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले वर्तमान सरकारले सीमान्तकृत वर्गको मुद्दालाई ओझेलमा पार्ने प्रयास गरिरहेको बताए । मधेश केन्द्रीत दलहरुले सरकारलाई झक्झक्याउन खोजिरहेको उनको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालक्षित गर्दै उनले अहिले सरकारको नेतृत्वमा २०४८ सालकै मानसिकता रहेको बताए । ०४८ सालको मानसिकतालाई ०६३ सालको आन्दोलन, माओवादी जनयुद्ध र मधेश आन्दोलनले तोडेपनि पुनः व्यूँतिन खोजिरहेको उनको भनाइ छ ।

‘देशमा ०४८ सालपछि धेरै कुराहरु भएको हो नि । माओवादी जनयुद्ध, शान्ति प्रक्रिया, मधेश आन्दोलन पनि भएको हो । यो तमाम आन्दोलनको उपलब्धीलाई उहाँहरुले समाप्त पार्न खोज्नुभएको छ । त्यो हामीलाई स्वीकार्य छैन,’– उनले भने ।

संविधान संशोधनको बारेमा मधेश केन्द्रीत राजनीतिक दलहरूको साझा धारणा बनाउन बैठक आह्वान गरिएको बताइएको छ । बैठकमा सरकारको काम र आगामी रणनीतिको विषयमा समेत छलफल भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्