Logo

विद्युत प्राधिकरणमा ठूलो अपारदर्शिता छ, मन्त्रिपरिषद्ले कुलमानलाई हटाउन सक्छः पूर्व एमडी काफ्ले (भिडिओसहित)



काठमाडौं, २ माघ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक डा.मुकेशराज काफ्लेले प्राधिकरणमा आन्तरिक रुपमा धेरै समस्या रहेको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले प्राधिकरणमा ठूलो वित्तीय अपारदर्शिता रहेको बताएका हुन् । उर्जा मन्त्रालयले सोधेको स्पष्टीकरण, महालेखाको प्रतिवेदन, डेडिकेटेड ट्रंक लाईन विवादलगायतका विषयले प्राधिकरणका अनियमितता रहेको आशंकालाई पुष्टि गर्न बल पुग्ने उनले बताए ।

‘आन्तरिक रुपमा विद्युत प्राधिकरणमा धेरै समस्या छ । सुशासनको सवालमा, वित्तीय अनुशासनमा धेरै ठूलो अपारदर्शिता छ । मन्त्रालयले किटानीका साथ १५ बुँदामा सहायक कम्पनीहरुदेखि लिएर माग गरेको छ । महालेखाको प्रतिवेदन, डेडिकेटेड ट्रंक लाईनका इष्यूहरु सयौं इष्यूहरु छन्,’– उनले भने ।

साथै, उनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ८ वर्षे कार्यकालमा एक मेगावाटको पनि नयाँ आयोजना सुरु नभएको बताए । हाल ३५ सय मेगावाटको विजुली कुलमान आउनुभन्दा अगाडि नै पीपीए भएर निर्माणाधीन अवस्थामा रहेकोमा उनले जसले लिएको काफ्लेले बताए । निजी क्षेत्रले उत्पादन गरेको विद्युतमा प्राधिकरणका एमडी घिसिङलाई जस दिनु भ्रमपूर्ण हुने उनले बताए ।

‘विगत ८ वर्षमा यसलाई स्वतन्त्र मुल्याङ्कन गर्ने हो भने प्राधिकरणले एक मेगावाट पनि कुनै नयाँ आयोजनाहरु सुरु गर्न सकेन । जलासययुक्त आयोजनाहरु बनाउनुपर्थ्यो ता कि यसले हाम्रो भविष्य सुरक्षित गर्न सकियोस् । सबै नीजि क्षेत्रले गरेको छ । अहिले ३५ सय मेगावाटको क्षमता छ, त्यो सबै हाम्रै कार्यकालमा पीपीए भएको हो । निजी क्षेत्रले गर्ने विद्युत उत्पादनमा प्राधिकरणको सीमित भूमिका छ । उसले मनिटरिङ पनि गर्दैन, पीपीए गर्नेमात्रै हो । विद्युत भन्नेवित्तिकै प्राधिकरणले नै गर्यो भन्नु यो भ्रमपूर्ण मिथ्याङ्क हो,’– उनले भने ।

साथै, कार्यकारी निर्देशक घिसिङसँग खरिदलगायत अन्य विविध विषयहरुमा अनियमितता भएको आशंकामा सरकारले १५ बुँदे विवरण माग गरेको उनले बताए । सरकारले नियाकाले प्राधिकरणका कार्यकारी निर्देशकसँग आशंकासहित विवरण माग्नु नै भ्रष्टाचार र अनिमितता भएको हुनसक्ने ठूलो आधार हुने उनले बताए । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले राज्यको निकायले मागेको विवरण नबुझाउनुले आशंकालाई थप पुष्टि गरेको काफ्लेले बताए । लोडसेडिङ अन्त्य गर्न एमडी घिसिङले कुनैपनि कदम नचालेको काफ्लेको दाबी छ ।

‘उहाँले कुनै कदम चाल्नुभएको होईन । वास्तवमा यो लोडसेडिङ अन्त्य गर्नका लागि पहिलो कुरा त विजुली चाहियो । आजपनि किन लोडसेडिङ भइरहेको छ भन्दाखेरी विजुलीको अभाव भएको कारण भएको हो नि त । त्यसैले पहिला हामीले विजुलीका स्रोतहरुको पहिचान गर्नुपर्छ । विजुलीको स्रोत हामीसँग आन्तरिक उत्पादन र भारतबाट आयत गर्छौं,’– काफ्लेले भने ।

साथै, स्पष्टीकरणमा घिसिङले पेश गरेको जवाफ चित्त नबुझेमा उनलाई पदमुक्त गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाउन सकिने काफ्लेले बताए । ‘उहाँको स्पष्टीकरण प्राप्त भएको छ । भोलि स्पष्टीकरण चित्त नबुझेर उहाँलाई हटाउन पर्यो भने त्यो प्रस्ताव मन्त्रिपरिषद्मा जान्छ र मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्