काठमाडौं, २ माघ । काठमाडौं जिल्ला अदालतले कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । बुधबार न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिबार साँझ ६५ लाख धरौंटी बुझाएर पोखराबाट छुटेका थिए । स्वर्णलक्ष्मीमा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेलाई प्रतिवादी बनाइएको थियो । उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको पाइएको छ ।
काठमाडौं जिल्ला अदालतले उक्त मुद्दामा लामिछाने अहिले नै कसूरदार होईनन् भन्न सक्ने अवस्था नदिएको भन्दै धरौटी माग गरेको छ । ‘अहिले नै प्रतिवादी रवि लामिछाने प्रस्तुत वारदातमा कसूरदार होईनन् भन्न सक्ने अवस्था नदिएकोले प्रस्तुत मुद्दाको प्रकृतिसमेतलाई मध्यनजर राखी मुद्दाको कारवाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी मुद्दा पुर्पक्षको प्रयोजनका लागि हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा यी प्रतिवादी रवि लामिछानेबाट रु.६०,००,०००/-साठी लाख रुपैयाँ नगद धरौट वा सो बराबरको जेथा जमानत दिए लिई तारीखमा राख्नु,’– आदेशमा भनिएको छ ।
धरौटी माग्नका लागि इजलासले मुद्दासँग सम्बन्धित विभिन्न तथ्य खुलाएको छ । जुन तथ्य लामिछानेको संलग्नता पुष्टि गर्न पर्याप्त देखिने कानुनका ज्ञाताहरु बताउँछन् ।
- गोरखा नेटवर्क मिडिया प्रा.लि.मा शेयर होल्डर एंव प्रबन्ध निर्देशक हुनुभन्दा अघि नै प्रतिबादी रवि लामिछाने समेतको हस्ताक्षरबाट खाता संचालन हुने गरी ग्लोबल आईएमई बैंकमा खाता खोली संचालनमा ल्याएको ।
- प्रबन्ध निर्देशक भएको बेलामा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य नरहेको गोरखा नेटवर्क मिडिया प्रा.लि.को सोही खातामा उक्त सहकारी संस्थाबाट रकम आएको ।
- रवि लामिछाने र गितेन्द्र बाबु राईको नाममा ऋण खाता खोली ४६ लाख, ९८ हजार फोर ह्वेलर लोन र ४६ लाख, ४८ हजार इको सेभेन सिटर भ्यान लोन गरी कूल ९३ लाख ४६ हजार लोन लिएको ।
- रवि लामिछानेको हस्ताक्षरबाट काटिएको चेकबाट ९० लाख १६ हजार ६६० स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा ऋण भुक्तान गरेको ।
- गोर्खा मिडिया नेटवर्क प्रा.लि.को खाताबाट प्रतिवादी रवि लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएको देखिएको । File Photo/RN