Logo

रास्वपा आपराधिक जत्थाजस्तो देखियो, ममाथि ज्यान मार्ने नियतले आक्रमण भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी (भिडिओसहित)



काठमाडौं, ३ माघ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि ज्यान मार्ने नियतले आक्रमण भएको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता तथा समर्थकहरुले नियोजित रुपमा आक्रमण गरेको बताएका हुन् । उनले कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पीडितको पक्षबाट बहस गर्दापनि आफूमाथि धम्की आएको र अहिले उनीहरुले आफूमाथि आक्रमण नै गरेको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए ।

हिजो (बुधबार) काठमाडौं जिल्ला अदालत परिसरमा भएको घटनाको नालीबेली उनले यसरी सुनाए, ‘सुरुमै एउटाले मेरो टाई तान्यो । घाँटी कसिएर मरिन्छ कि भनेजस्तो भयो । एक जनाले बल्लबल्ल छुट्यायो । कहाँबाट एकजना मान्छे आइपुग्यो जसले मप्रति सहानुभूति राख्दो रहेछ । त्यसपछि मेरो कोट तान्यो, एउटाले मेरो झोला लिएर भाग्न थाल्यो । त्यही मान्छेले मद्धत गर्यो । तर, त्यो मान्छेलाई म चिन्दिन । मलाई उनीहरुले घेरेर लडाएर आक्रमण गरे । मलाई दुई/चार ठाउँमा चोट लाग्यो ।’

आफूलाई प्रहरीले आएर बचाएको उनले बताए । त्रिपाठीले भने,‘मलाई प्रहरीले आएर घेरा नहालेको भए मेरो जीवन समाप्त हुन्थ्यो । उनीहरु एकअर्कालाई उक्साइरहेका थिए । उनीहरु जसरी आइरहेका थिए, त्यो खतरनाक थियो । उनीहरुको नियत मेरो ज्यान मार्ने थियो ।’

आफूले प्रधानमन्त्री केपी शर्मा ओली, माओवादीका बालकृष्ण ढुङ्गेललगायत विरुद्धसमेत मुद्दा लड्दा भौतिक आक्रमण नभएको उनले बताए । आफूलाई रास्वपाका कार्यकर्ता तथा समर्थकहरुले नियोजित रुपमा आक्रमण गरेको त्रिपाठीको दाबी छ । रास्वपा राजनीतिक दल नभएर क्रिमिनल ग्याङजस्तो देखिएको उनको टिप्पणी छ । ‘कार्यकर्ता नभएको व्यक्तिलाई के मतलव ? उ किन आक्रमण गर्न आउँछ ? राष्ट्रिय स्वतन्त्र पार्टीको चरित्र राजनीतिक दलजस्तो देखिएन कि अपराधिक जत्थाजस्तो देखियो । यो माफिया ग्याङ देखियो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्