Logo

न्यायाधीश अधिकारीलाई तत्काल बर्खास्त गर्नुपर्छः अधिवक्ता त्रिपाठी



काठमाडौं, ३ माघ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीलाई तत्काल बर्खास्त गरिनुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले मुद्दामा बहस गरेकै कारण अधिवक्तामाथि आक्रमण गर्दा पनि रवि लामिछानेलाई धरौटीमा छोडेर गम्भीर लाप्रबाही गरेको भन्दै उनले न्यायाधीश अधिकारीलाई बर्खास्त गरिनुपर्ने बताएका हुन् । न्यायाधीश अधिकारीलाई उनले न्यायमाथिको खतराको संज्ञा दिए । न्यायाधीश अधिकारीले संगठित अपराध र धरौटीको विधिशास्त्रसमेत नबुझी धरौटीमा छाडेको उनको दाबी छ ।

न्यायको लागि खतरा रहेको, साक्षीहरुलाई धम्क्याउन सक्ने, अधिवक्ताहरुलाई धम्क्याउनसक्ने अभियुक्तलाई थुनामा राखेर कारबाही अगाडि बढाउनुपर्छ भन्ने न्यायिक सिद्धान्त रहेको उनले बताए । उनले आफूमाथिको आक्रमण कानुनी पेशा र स्वतन्त्र न्यायपालिकामाथिको आक्रमण रहेको बताए ।

‘यहाँ अधिवक्तालाई नै आक्रमण गराइयो । वकिललाई नै आक्रमण गराउनेलाई धरौटीमा छोडिन्छ भने त्यो न्यायाधीशमा कार्य क्षमताको गम्भीर अभाव छ । उसले संगठित अपराधको विधिशास्त्र के हो ? बुझेकै छैन, वेल जुरिसप्रुडेन्स के हो ? बुझेकै छैन । म प्रधानन्यायाधीशलाई पनि र न्याय परिषद्लाई पनि अपिल गर्न चाहन्छु, यस्तो न्यायाधीशलाई तत्काल बर्खास्त गरिनुपर्छ । यो गम्भीर बद्नियत छ,’– उनले भने ।

काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा न्यायाधीश अधिकारीको इजलासमा थुनछेक बहस भएको थियो । पीडितहरुको तर्फबाट बहस गरेर फर्किएका अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै आक्रमण भएको थियो । आफूमाथि आक्रमण गर्न लगाउने रास्वपा र त्यसका सभापतिलाई धरौटीमा रिहा गरिनु खतरा हुने वरिष्ठ अधिक्ता त्रिपाठीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्