Logo

बुढानीलकण्ठमा कांग्रेसका १० मन्त्री, ब्रिफिङ सुन्दै देउवा



काठमाडौं, ३ माघ । नेपाली कांग्रेसबाट सरकारमा सहभागी १० जना मन्त्रीहरु पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पुगेका छन् । आज (बिहीबार) सभापति देउवा निवासमा कांग्रेस संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक जारी छ ।

बैठकमा मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयमार्फत भए गरेका कामहरुको ब्रिफिङ सुनाइरहेका छन् । मन्त्रीहरुले सभापति देउवासँग सोचेअनुरुपको काम गर्न नसकेको स्वीकार गरेका छन् ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बैठकमा सबै मन्त्रीहरुले आफूले सम्हालेको मन्त्रालयको विषयमा विस्तृत जानकारी दिएको बताए । अब के–के काम गर्ने, कसरी प्रभावकारी बनाउने ? कसरी अगाडि बढ्ने विषयमा छलफल भएको पनि मन्त्री चौधरीले बताए । अहिलेसम्म तीन वटा मन्त्रालयको ब्रिफिङ सकिएको उनले बताए ।

त्यस्तै, महामन्त्री गगनकुमार थापाले बैठकमा सरकारले भर्खरै ल्याएको अध्यादेशबारे जानकारी गराएका थिए । छलफलपछि नै अध्यादेश ल्याइएकोले त्यसमा अरु खास्सै चर्चाको आवस्यकता पार्टीले नदेखेको मन्त्री चौधरीले बताए ।

‘अध्यादेशको विषयमा पनि कुराकानी भयो । महामन्त्रीज्यूले जानकारी गराउनु भयो । छलफल भएकै विषय भएकाले यसमा त्यति चर्चा र परिचर्चा गर्ने कुरा भएन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्