Logo

सरकारले अध्यादेशबाट शासन चलाउन खोज्यो, विशेष अधिवेशनको माग गर्छौंः माओवादी नेता शर्मा (भिडिओसहित)



काठमाडौं, ३ माघ । नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले विपक्षी दलहरुले संसद्को विशेष अधिवेशन बोलाउन माग गर्ने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको र सरकार थप निरङ्कुश बन्न खोजेको बताए ।

‘यो सरकारले अध्यादेशमार्फत् मुलुक चलाउन खोजेको देखिन्छ । अरु निरङ्कुश बन्दै गइरहेको हामीलाई अनुभव भएको छ । संसद्लाई छलेर अध्यादेशमार्फत सरकार चलाउने निरङ्कुश शैली अवलम्बन गर्दै हुनुहुन्छ केपी शर्मा ओली । हामीले विशेष अधिवेशनको माग छिट्टै दर्ता गराउँछौं,’– उनले भने ।

साथै, नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय समिति बैठकमा बकमफुसे प्रतिवेदन पेश गरेको उनले बताए । नेता शर्माले प्रधानमन्त्री ओलीले व्यवसायी मिनबहादुर गुरुङसँग जग्गा दान लिएर खुलेआम घुस खाएको उनले बताए ।

दुई तिहाइको बहुमतमा रहेका प्रधानमन्त्री ओलीले जसरी हुन्छ सरकार टिकाउने र राज्यसत्ताको दुरुपयोग गरिरहेको उनले बताए । प्रतिपक्षी ६ दलले सरकारविरुद्ध आगामी माघ १६ गते खबरदारी सभा आयोजना गरेको पनि उनले बताए । सरकार ढाल्न माओवादीले कुनै चलखेल नगर्ने उनको भनाइ छ । नेता शर्माले भने, ‘सरकार ढाल्ने हाम्रो कुनै लक्ष्य छैन । किनभने आफैं यो सरकार ढल्छ । कांग्रेस र एमालेभित्र जुन स्वार्थ बाँझिएको छ । यसको कारणले आफैं यो सरकार ढल्छ । विपक्षीहरुले बेथिति र भ्रष्टाचारको खबरदारी गर्ने हो । सरकार आफैं ढल्छ भन्ने हाम्रो निष्कर्ष छ ।’



प्रतिक्रिया दिनुहोस्